राजधानीकै यात्रा असुरक्षित

राजधानीकै यात्रा असुरक्षित

देशको राजधानी सहरमै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहनु हाम्रो यातायात व्यवस्था कमजोर रहेको संकेत हो । सवारी दुर्घटनाबाट बर्सेनि झन्डै दुई हजारको अनाहकमा ज्यान जाने गरेको तथ्यांक छ । तथ्यांकअनुसार राजधानीमा सात वर्षयता सडक दुर्घटनामा परी झन्डै ११ सयजनाको मृत्यु भएको छ । यस अवधिमा यस्ता दुर्घटनामा परी हजारौ घाइते छन् । कति अंगभंग भएका छन् । यसरी देशकै मुटु मानिने राजधानीमा समेत यात्रा सुरक्षित बन्न नसक्नु अत्यन्त गम्भीर विषय हो । यस्ता दुर्घटनाले निर्दोष यात्रुको ज्यान जाँदा उसको परिवारलाई मात्र नभएर समाज र राष्ट्रलाई समेत क्षति पुगिरहेको हुन्छ ।

राजधानी उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्छन् । यसलाई भनेजस्तो गरी व्यवस्थापन गर्नु चुनौतीपूर्ण त छँदैछ । त्यसमा पनि ‘सडक यात्रा कति सुरक्षित छ त ?’ भन्ने विषयमा पर्याप्त बहस नहुने र यस्ता बहसमा सहभागी हुन अनिच्छुक रहने प्रवृत्तिले यातायात व्यवस्थापन सहज बन्न नसकेको प्रस्ट छ । घटना भइसकेपछि मात्र यसलाई संवेदनशील विषय मान्दै चासो दिने आमप्रवृत्ति बनेको छ । पैदलयात्रु, यात्रु, चालक र आमनागरिकमा आवश्यक सडक सचेतना जगाउन नसक्दा पनि समस्या देखिने गरेको छ । दुर्घटना हुनु मानवीय कमजोरी हो । यस्तो कमजोरी हुनु पूर्व आवश्यक सचेतता नपनाउनु, घटना भइसकेपछि पनि त्यसबाट पाठ सिक्नु नखोज्नु चरम लापरवाही हो ।

सवारी दुर्घटनामा बढीजसो पैदलयात्रु, मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्ति पर्ने गरेको तथ्यांकले देखाएको छ । दुर्घटनाका लागि ठूलै कारण हुनुपर्छ भन्ने छैन । सामान्य लापरवाहीले सवारी दुर्घटना हुने गरेको छ । महानगरीय प्रहरी महाशाखाको रेकर्डअनुसार धेरैजसो स्कुटर तथा मोटरसाइकलमा सवार व्यक्तिहरू दुर्घटनामा पर्ने गरेका छन् । यसैगरी पैदलयात्रु पनि दुर्घटनाको सिकार बनेको पाइन्छ । सवारी चलाउँदा लेनको पालना नगर्ने, लेनअनुसार बत्ती प्रयोग नगर्ने, मादक पदार्थ सेवन गरी जथाभावी सवारी हाँक्नाले दुर्घटना निम्तिने गरेको छ । यसैगरी, सवारीको यान्त्रिक खराबी र पैदलयात्रुका लापर्बाही पनि दुर्घटनाको कारण बन्ने गरेको छ । सडकको कमजोर अवस्था, मापदण्डविपरीतको सवारीको गुणस्तर चालकको लापर्बाही र नियमनमा हेलचेक्रयाइँ अन्य कारणहरू हुन् । नियमित रूपमा सवारीसाधनको अवस्था चेकजाँच नहुने र भएपनि त्यसमा जिम्मेवार निकायबाटै लापरवाही गर्नाले पनि दुर्घटना हुने गरेको छ ।

‘सडक यात्रा कति सुरक्षित छ त ?’ भन्ने विषयमा पर्याप्त बहस नहुने र यस्ता बहसमा सहभागी हुन अनिच्छुक रहने प्रवृत्तिले यातायात व्यवस्थापन सहज बन्न नसकेको प्रस्ट छ । घटना भइसकेपछि मात्र यसलाई संवेदनशील विषय मान्दै चासो दिने आमप्रवृत्ति बनेको छ । पैदलयात्रु, यात्रु, चालक र आमनागरिकमा आवश्यक सडक सचेतना जगाउन नसक्दा पनि समस्या देखिने गरेको छ । दुर्घटना हुनु मानवीय कमजोरी हो । यस्तो कमजोरी हुनु पूर्व आवश्यक सचेतता नपनाउनु र घटना भइसकेपछि पनि त्यसबाट पाठ सिक्नु नखोज्नु चरम लापरवाही हो ।

सडक यातायात धेरैजसो नेपालीका लागि एउटै मात्र विकल्प हो । देशका अन्य भागमा जस्तो कच्ची सडकका कारण राजधानीमा दुर्घटना भएको मान्न सकिँदैन । मुख्य कुरा भएका सडकको व्यवस्थापन, पैदलयात्रु र चालकको चेतना नै सडक दुर्घटनाका कारणहरू हुन् । सामान्यतया भौतिक पूर्वाधारको विकास र त्यसको व्यवस्थापन राजधानीमा उच्चस्तरको हुने अपेक्षा गरिन्छ । स्रोत साधन र पहुँचको दृष्टिकोणले पनि राजधानीमा पर्याप्त सुविधान उपलब्ध हुनुपर्छ । तर यातायात क्षेत्रमा देखिएको तस्वीरले सुधार गर्नुपर्ने विषयहरू धेरै रहेको बुझ्न सकिन्छ । सुरक्षित यात्रा गर्न पाउनु यात्रुको अधिकारको विषय हो । अनि हरेक नागरिकको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउनका लागि आवश्यक पूर्वाधार खडा गर्नु राज्यको दायित्व हो । सुरक्षित यात्राका लागि वैज्ञानिक व्यवस्थापन र नीतिगत सुधारमा पनि त्यत्तिकै ध्यान दिनु आवश्यक छ । सबै पक्षको गम्भीर ध्यानाकर्षण हुँदा मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।