ओलीको सन्तुष्टि कुटनीति

ओलीको सन्तुष्टि कुटनीति

ऋषि धमला

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण पूरा गरेर छिमेकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिइसकेका छन् । प्रधानमन्त्री भएपछि उनको पहिलो भ्रमण परम्परालाई निरन्तरता दिँदै भारतबाट सुरु भयो । उनी चीनमा दोस्रो भ्रमणमा गए । यसबाट उनले भारत र चीनप्रति विशेष महŒव दिएर समृद्धिको अभियानलाई अगाडि बढाउने नीति लिएको बुझ्न सकिन्छ । भारत भ्रमण गरेर ओलीले समकक्षी नरेन्द्र मोदीसँग एक्ला–एक्लै भेटमा प्रस्ट कुरा राखेका छन् । उनले विगतका तीता क्षणबाट शिक्षा लिएर भविष्यमा दुवै देशलाई लाभ हुने गरी कदम चाल्न प्रस्ताव राख्दा मोदीले सकारात्मक जवाफ दिएका थिए । फलस्वरूप मोदीले ओलीको भ्रमणलगत्तै नेपाल भ्रमण गरे । दुवै देशबीच विगतका सन्धि÷सम्झौता कार्यान्वयन र विकास निर्माणको सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति बन्यो । अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको शिलान्यास, सन् १९५० को सन्धि पुनरावलोकनको कामले गति लिनुले ओली भारतसँगको सम्बन्ध सुदृढ बनाएर द्विपक्षीय हितअनुकूल कार्य अगाडि बढाउन सफल भएको बुझ्न सकिन्छ ।

ओलीले चीन भ्रमणबाट विभिन्न आठवटा महŒवपूर्ण सम्झौता गर्न सफल भए । आर्थिक समृद्धिसँग जोडिएको विषयमा भएका सम्झौताले दुवै देशलाई लाभ पुग्न सक्छ । ओलीको मुख्य ध्यान उत्तरबाट रेल ल्याउने रहेको छ । ओलीको रेल सपना कहिले साकार होला प्रतीक्षाको विषय हो । तर, चीन रेल सेवा विस्तार र निर्माणमा सकारात्मक हुनु ओलीको कुटनीतिक सफलता हो । चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा भने ओलीले ठोस कदम चालेनन् । यसलाई उनको कुटनीतिक चार्तुयता बुझ्नुपर्छ । उनी चीनसँगको सन्धि सम्झौताबाट भारत नचिढियोस् भन्नेमा सतर्क छन् । भारतसँगको परम्परागत सम्बन्ध खलबलिएमा नेपाललाई दुरगामी असर पर्न सक्नेतर्फ उत्तिकै चिन्तित छन् । त्यसैले दुवै छिमेकीलाई नचिढ्याउन ओलीले व्यावहारिक कदम चालेका छन् ।
चीन भ्रमणबाट ओलीले अपेक्षाकृत सहयोग भित्राउन सकेनन् वा त्यसतर्फ ठोस अभ्यास गरेनन् आफैमा घोत्लिएर चिन्तन गर्नुपर्ने विषय हो । ओली चीन जानुअघि भारतीय प्रधानमन्त्री मोदी चीन पुगेर त्यहाँका राष्ट्रपति सी जिङपिङसँग महŒवपूर्ण भेटवार्ता गरेका थिए । दुवै देशको सम्बन्ध सुदृढ बनाउने उक्त भेटमा दक्षिण एसियाका छिमेक मुलुकहरूका विषयमा पनि भेट भएको थियो । चीन र भारतबीच नेपाल मामलामा सहमति बनेको विषय पनि बाहिर आए । दोक्लाम मामलामा युद्धको नजिक पुगिसकेका भारत र चीनको सम्बन्ध सुदृढ हुनुमा दुवै देशको मामला मात्र मिलेको भन्न मिल्दैन । छिमेकप्रतिको व्यवहारमा पनि दुवै देश सहमतिको अवस्थामा पुगेको देखिन्छ । चीन नेपाल मामलामा भारतलाई नचिढ्याउने बरू मिलेर जाने पक्षमा पुगेको घट्नाक्रमले देखाएको छ । फलस्वरुप भारतसँगको निकटतालाई मध्यनजर गरी चिनियाँ पक्षले नेपाली पक्षलाई भारतसँग मिलेर जाँदा नै सबैको हित हुने सुझाव दिएको छ । यसका परिणामहरू पछिल्लो समय देखियो ।


ओलीको कुटनीति

ओलीले व्यवहारमा भारतलाई कहिले चिढ्याउने काम गरेनन् । चित्त नबुझेको विषयमा प्रष्ट बोल्ने उनको स्वभाव जताततै उस्तै छ । भारतसँग सम्बन्ध चिसिँदा ओली कडा रूपमा प्रस्तुत भएका थिए । यसको मतलब उनी भारत विरोधी भने होइनन् । ओलीको बोली जति कठोर थियो, भारतसँगको सम्बन्धमा व्यवहार उत्तिकै नरम थियो । जुन उनको पछिल्लो भारत भ्रमण र मोदीलाई नेपाल भ्रमणमा ल्याउँदाको व्यवहारबाट पुष्टि हुन्छ । नेपालको प्राकृतिक स्रोतको सदुपयोग भारतसँग मिलेर गर्नुपर्ने पक्षमा ओली प्रष्ट छन् । त्यसैले, महाकाली सन्धि गर्दा ओलीले निकै जोखिम मोलेका थिए । उनले सबै किसिमका आरोप–प्रत्यारोप सहेर अडान लिएका थिए । पछिल्लो समय अरुण तेस्रो परियोजनाको निर्माण अगाडि बढाउँदा पनि ओलीले आलोचनाहरू खेपे तरपछि हटेनन् । ओली भारततर्फ बगिरहेका नेपालका नदीहरूमा पानीजहाज चलाउन चाहन्छन् । चीनतर्फ रेल र भारततर्फ पानीजहाजको सपना साकार पार्न ओलीले प्रकृति प्रदत्त सम्बन्धलाई समेत सदुपयोग गर्दै कुटनीति प्रयोगमा ल्याएका छन् ।

ओलीले व्यवहारमा भारतलाई कहिले चिढ्याउने काम गरेनन् । चित्त नबुझेको विषयमा प्रष्ट बोल्ने उनको स्वभाव जताततै उस्तै छ । भारतसँग सम्बन्ध चिसिँदा ओली कडा रूपमा प्रस्तुत भएका थिए । यसको मतलब उनी भारत विरोधी भने होइनन् । ओलीको बोली जति कठोर थियो, भारतसँगको सम्बन्धमा व्यवहार उत्तिकै नरम थियो । जुन उनको पछिल्लो भारत भ्रमण र मोदीलाई नेपाल भ्रमणमा ल्याउँदाको व्यवहारबाट पुष्टि हुन्छ

नेपालको इतिहासमा शक्तिशाली प्रधानमन्त्रीमध्येका ओलीले राजनीतिक उचाई लिन सक्नुमा कुटनीतिक चातुर्य पनि एउटा मुख्य कारण हो । विशेषगरी दुई छिमेकी भारत र चीनलाई सन्तुलनमा राख्ने विदेश नीति ओलीको रहँदै आएको छ । भारतलाई ओलीले निकै नजिकबाट बुझेका छन् । कम्युनिस्ट राजनीतिक पृष्भूमिका ओलीको कम्युनिस्ट पार्टीद्वारा शासित चीनसँगको सम्बन्ध प्रगाढ हुने भइहाल्यो । तैपनि, देश–देशबीचको सम्बन्धको विषय आउँदा कुटनीतिक क्षमताले अर्थ राख्छ । ओलीले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्ने नीतिलाई व्यवहारमा उतारेका छन् । उनले चलाएको सत्ताको रथमा सवारहरूको अनुहार र सरकारले चालेका कदमले सन्तुलित सम्बन्ध राख्ने खुबीलाई पुष्टि गर्छ ।

अबको बाटो

प्रधानमन्त्री ओलीले देशभित्र निकै बलियो स्थान बनाएका छन् । संसदको दुईतिहाई सांसदको समर्थन उनलाई छ । उनले कम्युनिस्ट पार्टी एक बनाएका छन् भने मधेश केन्द्रित संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सफल भए । अर्को मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन कसरत गरिरहेका छन् । राजपाको समर्थनसमेत ओलीलाई छ । ओलीले असन्तुष्ट पक्षलाई समेत समेटेर संविधान संशोधन प्रक्रिया अगाडि बढाइरहेका छन् । असन्तुष्टलाई समेत आफ्नो बनाउने राजनीतिक क्षमता ओलीले देखाउँदै गएका छन् । पार्टीको आन्तरिक व्यवस्थापन, देशभित्रको आन्तरिक व्यवस्थापन हुँदै कुटनीतिक माध्यमले बाह्य सम्बन्धको व्यवस्थापनमा समेत ओली अब्बल देखिँदै गएका छन् । यसले उनलाई आफ्नो नीति लागू गराउन सहज बनाएको छ ।
ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेका छन् । उनले समृद्धि शब्दलाई जनजीब्रोसम्म पु¥याएका छन् । राजनीतिक मुद्दामा सधैँ देश अल्झिरहँदा विकासको कामकारबाही सुस्त भएकोतर्फ ओली सचेत छन् । उनले कर्मचारीतन्त्रलाई समेत स्पष्टसँग समृद्धिको अभियानमा केन्द्रित हुन निर्देशन दिइसकेका छन् । विदेश सम्बन्धलाई पनि आर्थिक विकासमा ढाल्न लागिपरेका छन् । ओलीले वैदेशिक लगानी भित्राउने दीर्घकालीन लक्ष्य लिएर काम गरिरहेका छन् । विशेषगरी भारत र चीनबाट लगानी भित्राएर रोजगारीको अवसर सिर्जना गर्ने रणनीति बनाइरहेका छन् । भारत र चीनको बीचमा नेपाल अवस्थित हुनुलाई वरदान सावित गर्न ओली कम्मर कसेर लागेका छन् । उनले दुवै देशलाई विकास र समृद्धिको आफ्नो अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् । ओलीको यो आग्रहलाई भारत र चीन दुवै देशका नेताहरूले स्वागत गरिसकेका छन् । ओलीले कुटनीति क्षमताबाट देशलाई समृद्धिको मार्गमा बढाउने माहोल सिर्जना भइसकेको छ । यो अवसरलाई उनले खेर फाल्न हुँदैन ।

चीनसँग प्रशस्त आर्थिक स्रोत छ भने भारतसँग प्रविधिमा अब्बल मानवस्रोत छ । दुवै देशबीच रहेको नेपालसँग प्राकृतिक स्रोत छ । आर्थिक र प्राविधिक स्रोतबाट यहाँको प्राकृतिक स्रोतको उचित सदुपयोग गर्न सकिने सम्भावना छ । यसो भएमा नेपालमात्र समृद्ध हुँदैन, दक्षिण एसियाका अन्य मुलुकको समृद्धिको अभियानमा टेवा पुग्न सक्छ । नेपालको जलविद्युत, जडिबुटी र प्राकृतिक सुन्दरतालाई सदुपयोगका अवसरहरू सिर्जना गर्ने आर्थिक स्रोत र दक्ष जनशक्तिको परिचालनमा दुई विशाल छिमेकीको रचनात्मक भूमिका लिनसक्ने वातावरण सिर्जना गर्नुपर्छ । यसैमा नेपाल र नेपालीको हित छ । त्यसका लागि आन्तरिक व्यवस्थापन र कुटनीतिक चार्तुयता अपरिहार्य छ । ओलीले दुवै क्षमता देखाउँदै गएका छन् । उनले आफूसँग भएको शक्तिको उचित अभ्यास गर्न सके देशले विकासमा काँचुली फेर्न सक्छ ।

हिमशृंखलाको पर्खाल बनेको तिब्बतको प्लेटुबाट रेल ल्याउनु र ठाडो बग्ने नदीहरू बगेर गङ्गामा जोडिँदै बंगालको खाडीमा खस्ने नदीहरूमा पानीजहाज चलाउनु सहज छैन तर असम्भव होइन । यसका लागि देशले समृद्धिको उचाई हासिल गर्ने वातावरण विकास हुनुपर्छ । सुझबुझ र सही कुटनीतिले असम्भव भनिएको विषयलाई पनि सम्भव बनाउन सक्छ । ओलीले भारत र चीनसँग सुमधुर सम्बन्ध राख्दै कुटनीतिक चार्तुयतामार्फत् समृद्ध नेपाल निर्माण गर्न सक्ने अवसर छ । उनले राजनेताको भूमिका निभाएर आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर देशभित्र असन्तुष्ट पक्षलाई समेत साथ लिएर अगाडि बढ्न सक्ने राजनीतिक स्थायित्व र तिव्र विकासले नेपाली नागरिक खुसी नै हुनेछन् ।