संसदीय सुनवाइ समिति गठन, सभापतिमा योगेश भट्टराईको चर्चा

सविन शर्मा/काठमाडौं।

संघीय संसद्को दुवै सदनका सदस्य रहने संसदीय सुनुवाइ समितिले सोमबारबाट पूर्णता पाएको छ । प्रतिनिधिसभाको १२ जनासहित र यसअघि राष्ट्रिय सभाबाट स्वीकृत भएका तीन जना रहेको संसदीय समितिले सोमबार पूर्णता पाएको हो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूले सिफारिस गरेका १२ जनाको नाम सभामुख कृष्णबहादुर महराले सोमबार सदनमा घोषणा गरे । यसअघिको प्रतिनिधिसभा बैठकमा सभामुख महराले नाम घोषणा गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गराएको जरुरी सार्वजनिक महŒवको प्रस्तावमा छलफल हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गराएपछि रोकिएको थियो ।
संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) प्रतिनिधिसभाबाट सात जना रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट तीन जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १÷१ जना रहेका छन् । संसदीय सुनुवाइ समिति १५ सदस्यीय हुने व्यवस्था छ । राष्ट्रिय सभाबाट भने (ने क पा)बाट दुई र कांग्रेसबाट एक जनाको नाम स्वीकृत भएको थियो ।

कांग्रेसको सार्वजनिक महŒवको प्रस्ताव सोमबारको बैठकका लागि कार्यसूचीमा राखेपछि संसदीय समितिमा रहने सदस्य टुंगो लागेको हो । राष्ट्रिय सभाले भने गत शुक्रबार नै तीन सदस्यको टुंगो लगाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभाबाट (ने क पा)का सुमनराज प्याकुरेल र नन्दा चपाईको नाम घोषणा गरेका थिए भने कांग्रेसका जितेन्द्रनारायण देवको नाम घोषणा गरेका थिए ।

दुवै सदनबाट संसदीय सुनुवाइ समितिको नाम घोषणा भएपछि संसदीय सुनुवाइ गरेर नियुक्ति गर्ने बाटो खुलेको छ । संसदीय समितिले सुनुवाइको काम तत्काल नै सुरु गर्ने भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । संसदीय सुनुवाइ समिति गठन नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति रोकिएको छ । संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम सिफारिस गरे पनि सुनुवाइ नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्न पाएकी छैनन् । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजदूतहरूको नियुक्तिका लागि पनि सुनुवाइ गर्नुपर्ने हुन्छ ।

संसदीय सुनुवाइ समिति गठनसँगै समितिको सभापतिको चर्चासमेत हुन थालेको छ । समितिको सभापतिमा (ने क पा)का योगेश भट्टराईको नाम चर्चामा रहेको छ । समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । केही दिनमा नै बैठक बस्ने तयारी गरिएको सांसद भट्टराईले जानकारी दिएका छन् । सोही बैठकले उनलाई नै सभापति बनाउने सम्भावना रहेको अर्का सांसद पार्वत गुरुङले बताए । समितिले सभापति पाएसँगै सुनुवाइको काम थाल्ने तयारी गरेको छ ।

राष्ट्रिय सभामा ने क पाबाट

सुमनराज प्याकुरेल
नन्दा चपाई
कांग्रेस
जितेन्द्रनारायण देव
प्रतिनिधिसभा
ने क पाबाट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
पूर्णकुमारी सुवेदी
अमृता थापा
निरुदेवी पाल
पार्वत गुरुङ
शिवकुमार मण्डल

नेपाली कांग्रेस
पुष्पा भुसाल
ज्ञानेन्द्रबहादुर कार्की
भीमसेनदास प्रधान

संघीय फोरम
राजेन्द्र श्रेष्ठ
राजपा
लक्ष्मणलाल कर्ण