राजपा नेपाल संसदीय दल नेताको निर्वाचन शनिबार, ठाकुर र महतोबीच प्रतिस्पर्धा हुने

सुभाष साह/काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को संसदीय दलको नेता चयन गर्न आगामी शनिबार निर्वाचन हुने भएको छ । संसदीय दलको नेतालगायतका पदाधिकारी सर्वसम्मत छनोट गर्न नसकेपछि निर्वाचन हुने भएको हो ।
सिंहदरबारस्थित राजपा नेपालको संसदीय दलको कार्यालयमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकले शनिबार दलको नेता चयन गन बैठक बोलाउने निर्णय गरेको हो । तर, यस बीचमा सर्वसम्मतको प्रयास पनि जारी नै राखिने भएको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले शनिबारसम्ममा संसदीय दलको नेता छनोट हुने बताए । उनले संसदीय दलको बैठकमा सांसदहरूले सर्वसम्मत नेता छनोट गर्न सुझाव दिएको बताउँदै सर्वसम्मतको प्रयास जारी राख्ने तर सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट भए पनि शनिबारसम्म नेता छनोट गरिसक्ने बताए ।
‘संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले सर्वसम्मत नै दलको नेता छनोट गर्न सुझाव दिनुभयो । हामी पनि सर्वसम्मत नै नेता छनोट गर्ने प्रयासमा छौं,’ यादवले भने, ‘आउँदो शनिबार संसदीय दलको बैठक बस्छ । यसबीचमा सर्वसम्मतको प्रयास हुनेछ । सर्वसम्मत नभएको अवस्थामा निर्वाचन प्रक्रियाद्वारा भए पनि छनोट गरिन्छ ।’
संघीय संसद्को तेस्रो ठूलो दल राजपा नेपालले विधान अभावको कारण देखाउँदै नेता छनोट नभएको बताउँदै आएको छ ।
अध्यक्ष मण्डलको विगतमा भएको पटकपटकको बैठकमा सर्वसम्मत नै संसदीय दलको नेतालगायतका पदाधिकारी छनोट गर्ने प्रयास भएको थियो । तर, सर्वसम्मतको प्रयास असफल हुँदै गएपछि नेताहरूले विधान अभावको कारण देखाउँदै आएका छन् । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर राजापा नेपालको घोषणा भएको हो ।

राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी छनोट गर्न अध्यक्ष मण्डलको औपचारिक एवं अनौपचारिक बैठक जारी नै राखेको छ । संसदीय दलको नेता बन्न पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुर र सदस्य राजेन्द्र महतोले बन्न खोजे पछि सर्वसम्मत हुन सकेको छैन ।

ठाकुरले आफू सबैभन्दा वरिष्ठ र पार्टी अध्यक्षसमेत भएकाले आफैं संसदीय दलको नेता हुनुपर्ने तर्क आफू निकटका नेतासमक्ष गर्छन् । तर, महतोले संसदीय दललाई राम्रोसँग सञ्चालन एवं तीव्र गतिमा अगाडि बढाउन आफू दलको नेता हुनुपर्ने तर्क नेताहरूसमक्ष गर्दै आएका छन् । प्रतिनिधिसभामा १७ सिट रहेको राजपा नेपालमा ठाकुर र महतो दुवैले आफू नै बलियो रहेको बताउँदै आएका छन् । १७ मध्ये एक सांसद रेशमलाल चौधरी अहिले जेलमा छन् ।

यता, सोमबारकै बैठकमा संसदीय दलको विधान प्र्रस्तुत गर्दै अध्यक्ष मण्डलले मंगलबार १२ बजेसम्ममा आफ्नो सुझाव लिखित रूपमै पेस गर्न निर्देशन दिएको छ । सांसदहरूले विधानको अध्ययन गर्दै लिखित रूपमै सुझाव दिने सांसद एकबाल मियाँले बताए ।

‘बैठकमा प्रस्तुत विधानको अध्ययन गरेर लिखित रूपमै आफ्ना सुझाव दिनुपर्ने हुन्छ,’ मियाँले भने, ‘दलको विधान पारित भएपछि नेता छनोट गर्ने बाटो खुला हुनेछ । हामीले सर्वसम्मतमै नेता छनोट गर्न अध्यक्ष मण्डललाई सुझाव पनि दिएका छौं ।’

संसदीय दलको विधानमा छलफल गर्दै आवश्यक परिमार्जनका लागि सांसदहरूसँग लिखित सुझाव मागेको अध्यक्ष मण्डलको बैठक मंगलबार बस्दै छ । नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको कार्यदलले निर्माण गरेको दलको विधानमा सांसद एवं पार्टीका नेताको सुझावलाई समेटेर अध्यक्ष मण्डलले पारित गर्ने राजपा नेपालका महासचिव अजय गुप्ताले बताए ।