प्रधानमन्त्री ओलीको कटाक्ष, प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोज्यो

सुभाष साह/काठमाडौं। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलले आन्दोलनका लागि केही मुद्दा नपाएपछि कमजोर त्यान्द्रो समाएरै भए पनि आन्दोलन गर्न खोजेको आरोप लगाएका हुन् । सरकारले जनताको पक्षमा गरिरहेको कामबाट तर्सेर त्यसलाई आझेलमा पार्न अहिले अनेक प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्नेसमेत प्रस्ट पारे ।  निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाएको भए पनि अहिले सो गठबन्धन एउटै पार्टी भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले राम्रा काम गर्न खोज्दा आत्तिनुपर्ने कुनै कारण नभएको प्रस्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ।

चिकित्सा शिक्षा विधेयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा सांसदहरूलाई अडानका साथ कुरा राख्न पनि उनले सांसदलाई निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले सरकारले नराम्रो काम केही नगरेको भन्दै राम्रा कामका पक्षमा दृढतापूर्वक उभिन पनि आह्वान गरे । ‘हामीले नराम्रो केही गरेका छैनौं । राम्रो कामको पक्षमा हामीले दृढतासाथ कुरा राख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अरू चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामीचाहिँ ओइलाउने हुन्छ ?’
प्रधानमन्त्री ओलीले प्रतिपक्ष दल नेपाली कांग्रेसतर्फ इंगित गर्दै आफूहरू हरेक विषयमा संसद्मा बहस गर्न तयार रहेको बताउँदै कांग्रेसलाई पनि त्यसैअनुरूप बहसमा उत्रिन चेतावनी दिए ।उनले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा अडानका साथ कुरा राख्न सांसदहरूलाई आग्रहसमेत गरे । उनले संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको पनि बताए । ‘सरकारले आफ्नो नीतिअनुसारका ऐन ल्याउन नपाउने ? पाउँछ, यसमा के अनौठो भयो र ?’ उनले भने ।  उनले काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यावहारिक नभएको धारणा राखे ।

शक्तिशाली नहुने उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा आफूलाई शक्तिशाली हुने चाहना नभएको बताउँदै देशवासीलाई खुसी बनाउने लक्ष्य रहेको बताए । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफूले आधा शताब्दी लडेको व्यक्तिगत रूपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र देशवासीलाई सुखी बनाउन भएको जिकिर गरे । ‘मैले मेरो उद्देश्य भुलेको छैन । कहिले पनि भु्ल्दिनँ । मैले लडेको देशलाई समृद्ध बनाउन र जनतालाई सुखी बनाउन हो,’ उनले भने, ‘वैयक्तिक तवरमा शक्तिशाली हुने इच्छा छैन । म शक्ति केन्द्रित गर्न चाहन्नँ । तर, सरकार शक्तिशाली चाहिन्छ ।’

सरकार शक्तिशाली हुनुको अर्थ अहंकार पाल्ने, संविधान र कानुनविपरीत चल्नु नभएको पनि प्रधानमन्त्री ओलीले बताए । ‘यसको अर्थ दम्भ राख्ने अहंकार पाल्ने संविधान कानुनविपरीत चल्ने, हामीले जे गरे पनि हुन्छ भन्ने मलाई लाग्दैन,’ प्रधानमन्त्री ओलीले भने । आफूले लोकतन्त्रका लागि लडेको र ७७ जिल्लाकै वासिन्दाको समस्या बुझेको पनि उनले जिकिर गरे । प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा केबलकार राखेर भए पनि नेपालीका छोराछोरीलाई खोलामा खस्ने वातावरण अन्त्य गर्ने जिकिर गरे ।

‘तुइनको तार टाँगेको ठाउँमा केबलकार किन टाँगिँदैन ?’ उनले प्रश्न गरे, ‘केही बढी पैसा खर्च गरेर भए पनि नेपालीका छोराछोरी खोलामा खसेको म देख्न सक्दिनँ ।’ उनले नेपाललाई तुइनमुक्त देश बनाउने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री पाएकोमा खुुसी हुन प्रतिपक्षहरूलाई पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकार बनेको पाँच महिना मात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रस्टीकरण दिएका छन् । उनले दशकौंदेखि परेका खाल्डो ४÷५ महिनामै पुरेर नसक्ने बताएका हुन् ।
‘दशकौंदेखि खाल्डो परेका छन् । ४÷५ महिनामा सलल हिँड्ने बनाउनुपथ्र्यो,’ उनले भने, ‘तर माननीयज्यूहरूले जति विश्वास गरे पनि ४÷५ महिनामा कति काम गर्न सकिन्छ भन्ने त्यसको सीमा हुन्छ ।’

प्रधानमन्त्री ओलीले यो सरकारले मितव्ययिताको नीति अपनाएको जिकिर गरे । ‘प्रधानमन्त्री कार्यालयमा आउनुभयो भने दूध चिनी नहालेको चिया खाएको देख्नुहुन्छ,’ उनले भने, ‘यहाँलाई पनि त्यस्तो कुराले नै स्वागत गरिन्छ । त्यहाँ त्यस्तो कुनै खानेकुराले स्वागत गरिँदैन ।’ प्रधानमन्त्री ओलीले जनताको करबाट आएको हरेक रकम मितव्ययिताको साथ सदुपयोग र खर्च गर्ने जिकिर गरे ।