मदन पुरस्कारका लागि आठ पुस्तक मनोनयन

राजधानी समाचारदाता/काठमाडौं।

२०७५ सालको मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित भएकामध्ये आठवटा पुस्तक मनोनयनमा परेका छन् । मदन पुरस्कार गुठीले सोमबार ती आठवटा पुस्तकको सूचीसहित यस वर्षको पुरस्कारका लागि मनोनयन सार्वजनिक गरेको हो ।

यसपटक मदन पुरस्कारका लागि आख्यान र गैरआख्यान दुवै विधाका पुस्तक परेका छन् । आख्यानतर्फ बुकहिलबाट प्रकाशित दुई पुस्तक सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’सँगै निलम कार्की निहारिकाको सांग्रिला बुक्सबाट प्रकाशित उपन्यास ‘योगमाया’ मनोनयनमा परेको छ ।

मदन पुरस्कारकै लागि कथातर्फ सांग्रिला बुक्सबाटै प्रकाशित ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ मनोनयनमा परेको छ । काव्यतर्फ कविराज माङलाक लिखित तथा शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रह ‘लिम्बुनी गाउँ’ मनोनयनमा परेको छ ।

यस्तै, गैरआख्यानतर्फ माओवादी नेता मोहन वैद्य ‘किरण’को विचारपरक पुस्तक ‘हिमाली दर्शन’, पत्रकार यज्ञशद्वारा लिखित फाइन प्रिन्टको जीवनीपरक पुस्तक ‘भुइँया’, फाइन प्रिन्टले नै प्रकाशन गरेको नयनराज पाण्डे लिखित स्मरण पुस्तक ‘यार’ मनोनयनमा परेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले मदन पुरस्कारका लागि सोमबार यी आठ पुस्तकको मनोनयन सूची सार्वजनिक गरेका हुन् । मदन पुरस्कार आगामी असोजको दोस्रो साता प्रदान गरिनेछ ।