बजेट खर्च ४० प्रतिशत, विकास अधुरै, कुल बजेटको एक तिहाइ रकम खर्च हुन बाँकी

शिव दुवाडी/काठमाडौं ।

चालू आर्थिक वर्ष २०७४÷७५ सकिन ६ दिन बाँकी छ । यो अवधिमा कुल बजेटको ७६ प्रतिशत र विकास बजेटको ६० प्रतिशत मात्र खर्च भयो ।  बजेटरी खर्चलाई प्रभावकारी बनाउन १५ जेठमै बजेट ल्याउने व्यवस्था गरिए पनि लक्ष्यअनुसार खर्च गर्न सरकारले सकेन । विनियोजित बजेट स्वतः खर्च गर्न प्रक्रिया अगाडि बढाउन सकिने र त्यसका लागि पुनः अनुमति लिइरहन नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइए पनि खर्चले गति लिन सकेको देखिएन ।

महालेखा नियन्त्रकको कार्यालयले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको २५ असारसम्ममा पुँजीगततर्फको जम्मा ६० दशमलव ५५ प्रतिशत खर्च भएको छ । यो भनेको कुल बजेटमध्ये २ खर्ब २ अर्ब रुपैयाँ हो । जबकि, पुँजीगत खर्चअन्तर्गत ३ खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
महालेखाको तथ्यांकअनुसार चालू बजेट भने ८४ दशमलव २८ प्रतिशत खर्च भएको छ । यो कुल बजेटको ६ खर्ब ७७ अर्ब रुपैयाँ हो । यो शीर्षकमा ८ अर्ब ३ अर्ब रुप्ौयाँ बजेट विनियोजन भएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ ९४ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ । यो रकम वित्तीय व्यवस्थापन शीर्षकअन्तर्गत विनियोजित कुल बजेटको ७६ प्रतिशत हो । यो शीर्षकमा १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेल निर्वाचनका कारण चालू आर्थिक वर्षको झन्डै ६ महिना लामो समय खर्च नहुँदा तथा सरकार परिवर्तनका कारण झन्डै तीन महिना राजनीतिक तरलताको अवस्थाका कारण सरकारी लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको दाबी गर्छन् ।
यद्यपि, बजेट सक्नैका लागि र लक्ष्यअनुसार खर्च देखाउन सरकारले जथाभावी रकम खर्च नगर्ने उनको भनाइ छ । ‘चालू आर्थिक वर्षमा निर्वाचन तथा सरकार परिवर्तनलगायतका कारणले बजेटरी खर्चमा केही कमी आएको हो,’ उनले भने, ‘आगामी दिनमा यसमा सुधार हुन्छ ।’
महालेखाको तथ्यांकअनुसार हालसम्म राजस्वतर्फ लक्ष्यको ९३ दशमलव १५ प्रतिशत अर्थात् ६ खर्ब ८० अर्ब रुपैयाँ संकलन भएकोे छ । सरकारले आर्थिक वर्ष २०७५÷७५ मा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

कुल बजेटको एक तिहाइ रकम खर्च हुन बाँकी
विकास बजेट ६० प्रतिशत मात्रै खर्च
लक्ष्य पु¥याउन जथाभावी खर्च नगर्ने सरकारी दाबी
राजस्वको लक्ष्य भेट्न कठिन

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्षको अन्त्यसम्ममा राजस्व संकलनमा सरकारले लिएको लक्ष्य सहजै पूरा हुने बताए । ‘हामी आर्थिक वर्षको अन्त्यमा छौं, आर्थिक वर्षका केही दिन अझै बाँकी नै छन्,’ उनले भने, ‘वर्षको अन्त्यसम्ममा लक्ष्य पूरा हुन्छ ।’
विगतका वर्षमा पनि अघिल्ला आर्थिक वर्षमा झैं अन्तिम समयमा आएर विकास बजेट सक्ने प्रवृत्ति कायम थियो । वर्षभरि काम नगरी बस्ने र आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्नैका लागि काम देखाउने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ ।

चालू आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी हुँदा विकासे योजना बजेट सक्नका लागि मध्य बर्खामा धमाधम काम गरिरहेका छन् । विकासका कामको ठेक्का लिएर काम थालेका ठेकेदारको कामबारे अनुगमन नहँुदा आर्थिक वर्षको अन्त्यमा हतारमा गुणस्तरहीन काम जारी छन्, जसका कारण असार लागेसँगै कतै बाटो कालोपत्रे गरिँदै छ भने कतै भएको कालोपत्रे उप्काएर ढल खनिँदै छ ।

चालू आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा छुट्याइएको बजेटबाट असार लागेपछि दैनिक अर्बौं रुपैयाँ खर्च भइरहेको छ । अघिल्ला वर्षमा अस्थिर राजनीतिलाई असारे विकासका लागि दोष दिइन्थ्यो । तर, यस वर्ष पनि देशमा असारे विकासको बाढी नियन्त्रण हुन सकेन । आर्थिक वर्षको अन्त्यमा तुलनात्मक रूपमा अन्य समयको भन्दा केही बढी खर्च हुनु स्वाभाविकै भए पनि असारे विकासको खर्च र त्यसको गति भने अस्वाभाविक देखिएको छ ।