जटिल बन्दै चिकित्सा शिक्षा विधेयक, चिकित्सक आन्दोलनमा, सरकार अडानमा

टेनिस रोका/काठमाडौं।

सरकार र अनशनरत डा. गोविन्द केसी पक्षधर आ–आफ्नो अडानबाट पछि नहट्दा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक झनै जटिल मोडमा पुगेको छ । सरकारले संसद् सचिवालयमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबाट पछि नहट्ने स्पष्ट अडान लिएको छ । केसी पक्षधरले पनि माग पूरा नहुँदासम्म पछि नहट्ने चेतावनी दिँदै आएका छन् । केसीको माग सम्बोधन गर्न माग गर्दै चिकित्सकहरू आन्दोलितसमेत बनेका छन् । तर, सरकारले भने केसीलाई आफूले बनाउने कानुन र ऐनबाट बन्ने विधेयकमा विश्वास लिन आग्रह गरेको छ ।

सरकार र जुम्लामा अनशरत केसी पक्षधर पछिल्लोपटक एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन् । सरकारले केसीको माग सम्बोधनका लागि वार्ता टोलीसमेत गठन गर्न आनाकानी गरेको छ भने केसीले सरकारले पठाएका चिकित्सकबाट उपचार लिन अस्वीकार गरेका छन् ।
सरकारले केसीलाई अनशन छाडेर आयोगमार्फत माग सम्बोधन गर्न आग्रह गरेको छ भने केसीले माग पूरा नहुँदासम्म अनशन नतोड्ने अडान लिएका छन् ।
डा. गोविन्द केसीले उठाएका माग आयोगमार्फत सम्बोधन गर्न सकिने जनाए पनि अहिले विधेयकमार्फत उनका माग अक्षरशः सम्बोधन गर्न नसकिनेमा सरकार पुगेको हो ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा संसद्मा पेस भएको विधेयक सरकारको नीतिअनुसार नै भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हेरफेर हुनै नसक्ने बताएका थिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि सरकारले अहिले आवश्यकताकै आधारमा विधेयक ल्याएको दाबी गरेका छन् ।
राष्ट्रिय सभामा दर्ता भएको सार्वजनिक महŒवको प्रस्तावमाथि मंगलबार जवाफ दिने क्रममा मन्त्री पोखरेलले विधेयकबाट सरकार पछि नहट्ने जनाए । ‘मेडिकल कलेज २० वर्ष किन रोक नलगाउने ? किन १० वर्ष मात्र भन्ने विषयमा आयोगले निर्धारण गर्ने कुरा विधेयकमा प्रस्ताव गरिएको छ,’ मन्त्री पोखरेलले भने, ‘चिकित्सा शिक्षा ऐनअनुसार बन्ने आयोगमाथि विश्वास सबैले गर्नुपर्छ, अन्य कुनै पनि सहमतिबाट सरकार पछि हट्दैन ।’मन्त्री पोखरेलले १० वर्ष उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न हुन्न भन्नेमा आफू पनि रहेको भन्दै त्यो कुरा आयोगमार्फत नै हल गर्नुपर्नेसमेत जनाएका छन् ।

डा. केसीको अनशनप्रति सरकार झनै आक्रोशितसमेत बनेको छ । प्रधानमन्त्री ओलीले डा. केसीलाई उकासेर जुम्लामा भोकै बस्न लगाएको भन्दै सडकमा कराउनेहरू चाँडै चुप लाग्ने जनाएका छन् ।शिक्षामन्त्री पोखरेलले राष्ट्रिय सभा बैठकमा नै कुनै पनि सहमतिबाट सरकार पछि नहट्ने अडान पेस गरेका छन् ।
मन्त्री पोखरेलले हिजो सबै मिलेर निजी मेडिकल कलेजलाई पूर्वाधार विस्तार गर्न अनुमति दिएकाले तिनीहरूको उचित व्यवस्थापन हुनु जरुरी रहेको भन्दै केसी पक्षधरलाई समस्या समाधानका लागि गम्भीर बन्न सुझाएका छन् ।
‘हिजो पूर्वाधार विस्तार गर्ने अनुमति पाएकाहरूका हकमा के गर्ने भन्ने कुरामा डा. केसी पक्षधरले पनि बुझ्न जरुरी छ,’ मन्त्री पोखरेलले भने, ‘यतिबेला अनशन बस्नेभन्दा आयोगमा सही मान्छे राखेर जानुपर्ने समय भएको छ ।’नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले केसीका माग हुबहु सम्बोधन हुन नसक्ने स्पष्ट पारेका छन् । उनले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा केसीका जायज माग जनताको सर्वोच्च निकाय संसद्बाट सम्बोधन गरिनुपर्नेसमेत जनाए ।

उपचारमा अर्को टोली पठाउने तयारी

जुम्लामा अनशरत केसीको उपचारार्थ सरकारले अर्को टोली पठाउने तयारी गरेको छ । सरकारले केसीको स्वास्थ्यवस्था राम्रो नरहेको भन्दै पुनः अर्को टोली उपचारका लागि पठाउन लागेको हो ।
शिक्षामन्त्री पोखरेलले राष्ट्रिय सभा बैठकमा सरकारले उपचारका लागि टोली पठाउँदा उपचार नलिएको भन्दै दुःखसमेत व्यक्त गरेका छन् । ‘पहिले पठाएको टोली बदलेर गंगालाल, न्याम्सको अर्को टोली पठाउन गृहकार्य गरेको छु, अप्ठ्यारो के छ भने डाक्टरसा’ब यहाँबाट पठाएको टोलीबाट उपचार नै लिन्नँ भनेर बस्नुभएको छ,’ राष्ट्रिय सभामा उनले भने ।मन्त्री पोखरेलले केसीलाई जुम्लामा चिकित्सक पठाएर उपचार गर्नुभन्दा काठमाडौंमा नै ल्याएर उपचार गर्नु उचित हुने भन्दै त्यसको वातावरण बनाउन विपक्षी दलसँग आग्रहसमेत गरे ।

स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी

नेपाल चिकित्सक संघले आमरण अनशनरत केसीको स्वास्थ्य सेवासम्बन्धी माग सम्बोधन गर्न माग गर्दै आजदेखि १ घण्टा सेवा ठप्प पार्ने भएको छ ।
चिकित्सक संघले ७२ घण्टे अल्टिमेटम पूरा भएको भन्दै आजदेखि कार्यक्षेत्रभन्दा बाहिर निस्किएर आफूअनुकूल १ घण्टा सेवा नदिने जनाएको हो ।
संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरिए पनि सरकारले त्यतातर्फ ध्यान नदिएको जनाएको छ ।संघले केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत चार दिनयता हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।