प्रदेश समितिमा भागबन्डाको तयारी, पौडेल सहमत, सिंह र सिटौला मानेनन्

महेश्वर गौतम/काठमाडौं।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र प्रदेश समितिको निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा किचलो सुरु भएको छ ।नयाँ संरचनाअनुसारको प्रदेश समिति निर्माण गर्न विधान संशोधन गर्नुपर्ने भए पनि सो विषयमा संस्थापन र संस्थापनइतर पक्षबीच निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा फेरि किचलो सुरु भएको हो । पार्टीको विधान संशोधनका लागि भने महासमिति बैठक आवश्यक पर्छ ।
हेटौंडामा सम्पन्न जिल्ला सभापतिको भेलाको म्यान्डेटअनुसार प्रदेश समिति निर्वाचनमार्फत तत्कालै गठन गर्ने भन्ने निर्णय भएको भए पनि पार्टी नेतृत्व भने भागबन्डामा नै समिति बनाउने तयारीमा छ ।


कांग्रेस सभापति शेरबहादुर देउवा सकेसम्म सहमतिबाटै भागबन्डा गरेर प्रदेशको संरचनाको भर्पाइ गर्ने पक्षमा लागेका छन् । त्यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रस्तावसमेत गरिसकेका छन् । सो प्रस्ताव सभापतिबाट आएपछि गत आइतबार वरिष्ठ नेता पौडेलले आफ्ना पक्षमा रहेका भनिएका नेतालाई बोहोराटारस्थित आफ्नै निवासमा डाकेर छलफलसमेत गरेका छन् ।
तर, पूर्वमहामन्त्रीसमेत रहेका उनकै खेमाका भनिएका नेता प्रकाशमान सिंह, शेखर कोइराला र अर्जुननरसिंह केसीसहित अर्का खेमाका नेता कृष्ण सिटौलाले समेत सहमत नहुने भन्दै निर्वाचनमा नै जोड दिएपछि प्रदेश समिति गठनमा विवाद भएको हो ।
पौडेल निवासमा भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले प्रदेश संरचनाका लागि तदर्थ समिति बनाउने विषयमा छलफल भएको बताए ।
‘सो विषयमा छलफल र बहस चलिरहेका छन् तर के कसरी निर्माण गर्ने भन्ने विषयमा ठोस निर्णय भएको छैन, धेरैको राय निर्वाचनमार्फत नै समिति गठन गर्नुपर्छ भन्ने छ,’ नेता केसीले राजधानीसँग भने ।

कांग्रेस उच्च स्रोतका अनुसार सभापति देउवाले प्रदेश संरचनाका लागि तत्काल तदर्थ समिति बनाएर जाने र त्यसका लागि आफूले चारवटा प्रदेशको संयोजक राखेर तीनवटा प्रदेशको संयोजक पौडेल पक्षलाई दिन पौडेलसँग प्रस्ताव नै गरिसकेका छन् । सो प्रस्तावमा पौडेल सकारात्मक देखिएको स्रोतले जनाएको छ ।
तर, पछिल्लो समय देउवासँग निकट भएको भन्ने गुनासो खेपिरहेका वरिष्ठ नेता पौडेलले सो विषयमा निर्णय दिन भने सकेका छैनन् ।
नेता सिटौलाले भने प्रदेश समिति कुनै हालतमा भागबन्डाबाट निर्माण गर्ने पक्षमा आफू नरहेको बताए । ‘विधि विधानअनुसार पार्टी चल्नुपर्छ पनि भन्ने अनि भागबन्डामा जाने भन्ने पनि हुन्छ ? पार्टी जुन कारणले यो अवस्थामा आयो, फेरि त्यही उल्टो बाटो हिड्ने ?’ सिटौलाले भने, ‘अब कुनै हालतमा भागबन्डामा जानुहुँदैन, निर्वाचन प्रक्रियाबाट मतदानमार्फत समिति चयन हुनुपर्छ ।’

तर, सभापति देउवा भने तत्कालका लागि प्रदेश समिति बनाउदा तदर्थ समिति बनाउन चाहन्छन् । सिंह, सिटौला र केसी भने प्रत्येक प्रदेशका महाधिवेशन प्रतिनिधिबाट प्रदेशमा नेतृत्व चयन गर्ने पक्षमा छन् ।देउवानिकट नेता मीन विश्वकर्माले महासमितिअघि प्रदेश समिति बन्ने सम्भावना नरहेको तर महासमितिबाट विधान संशोधन गरेर तत्कालका लागि तदर्थ समिति बनाइने जनाए । ‘पहिले महासमिति बैठकबाट विधान संशोधन गर्छौं, त्यसपछि केही वैधानिक प्रावधान राखेर तदर्थ समिति बनाउँछौं,’ नेता विश्वकर्माले भने । आइतबारको पौडेल निवासको बैठकमा वरिष्ठ नेता पौडेलसहित सिंह, सिटौला, केसी, डा. रामशरण महत र डा. शेखर कोइराला सहभागी भएका थिए ।

महासमिति असोजमा

कांग्रेसको संस्थापन पक्ष भदौका लागि तय महासमिति बैठक असोजमा सार्ने तयारीमा लागेको छ ।सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले भदौका लागि तय महासमिति बैठक असोजको पहिलो साता हुने सम्भावना रहेको बताए ।
‘महासमिति सर्ने सम्भावना छ, भदौको पहिलो सातामा हुन सक्छ,’ नेता विश्वकर्माले राजधानीसँग भने । कांग्रेसको निर्वाचन समीक्षाका लागि बसेको १६ भदौको केन्द्रीय समिति बैठकले भदौभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
विधान संशोधनका लागि मस्यौदा समितिसमेत नबनेका कारण महासमिति सर्ने भएको हो । विधान मस्यौदा समिति बनेपछि मात्र सो समितिले विधानको मस्यौदा बनाएपछि महासमितिमा सोबारे ठोस छलफल र निर्णय हुनेछ । महासमिति बैठकले नै पार्टीको विधान संशोधन गर्ने र संशोधित विधानअनुसार प्रदेश संरचनाको गठन हुनेछ ।