फुटबलको पावरहाउस

मस्को/एजेन्सी।

विश्वकप सुरु हुनुअघि दक्षिण अमेरिकी टिमका स्टार खेलाडी लियोनल मेसी, स्वारेज र नेइमार जुनियरको चर्चा शिखरम थियो । तर, विश्वकपमा यिनीहरूको चमक फिका रह्यो । जबकि, युरोपियन टिम क्रोएसियाका लुका मोड्रिड, इवान राकिटिक, इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका एमबाप्पे र ग्रिजम्यान तथा बेल्जियमका हाजार्ड, बु्रइन र लुकाकुले ठूलो चर्चा पाए । यी खेलाडीले फुटबलको असली पावरहाउस युरोप नै हो भन्ने साबित गरिदिए ।

लगातार चौथोपटक दक्षिण अमेरिकी टिम विश्वकपको उपाधिबाट टाढा हुन पुगेको छ । ब्राजिल र उरुग्वे क्वार्टरफाइनलबाट बाहिरिए । पछिल्ला आठ विश्वकपको रेकर्डलाई हेर्ने हो भने ६ पटक युरोपको टिम च्याम्पियन बनेको छ । यसपटक पनि युरोपकै टिम च्याम्पियन बन्ने पक्का भइसकेको छ त्यसैले त युरोपलाई फुटबलको पावरहाउस भनिएको हो । जब विश्वकप फुटबल युरोपमा नै हुन्छ, तब यी पावरहाउसबीचको प्रतिस्पर्धा हेर्नलायक बन्छ । तथापि, यसपटक इटाली र नेदरल्यान्ड्स जारी विश्वकपमा छैनन् तर यसपटक बेल्जियम र क्रोएसियाले तहल्का मच्चाइरहेका छन् ।

मौसम, भौगोलिक अवस्था र घरेलु माहोलका कारण यसपटकको विश्वकप पनि रोमाञ्चक बनिरहेको छ । सन् २०१४ मा जर्मनीले ब्राजिलमा भएको विश्वकपमा च्याम्पियन बनेर युरोपको दायरालाई फराकिलो बनाएको थियो । यसपटक त युरोपकै टिमले विश्वकप जित्ने निश्चित भएको छ । सेमिफाइनल पुग्ने चार टिम युरोपका मात्र छन् । युरोपको कोटाबाट वल्र्डकपमा स्थान बनाएका आइसल्यान्ड, पोल्यान्ड, सर्बिया र जर्मनी भने दोस्रो चरणमा नै पुग्न सकेनन् । यसपटक १० वटा युरोपियन टिमले दोस्रो चरणमा प्रवेश गरे । यसपटक युरोपबाट १४ वटा देश सहभागी भएका थिए । तर, अब हुने दुईवटा विश्वकप भने युरोपमा हुनेछैन । यसले पनि युरोपलाई घरेलु मैदानबाट बाहिर उपाधि जित्ने अवसर दिएको छ ।

फुटबलका लागि युरोप स्वर्ग नै मानिन्छ । विश्वका चर्चित क्लब लिगहरू यहीँ हुन्छन् । इंग्लिस प्रिमियर लिग इंग्ल्यान्डको सर्वाधिक लोकप्रिय लिग हो । त्यसैगरी, स्पेनको लालिगा, जर्मनीको बुन्डेस लिगा, इटालीको सिरी ए फ्रान्सको कोपा डे लालिग विश्वमै चर्चित छन् ।

फुटबलमा युरोपको पकड हुनुमा लिगले महŒवपूर्ण योगदान दिएको हुन्छ । लिग सञ्चालनमा यी बिग फाइभ देशको नाम अग्रपंक्तिमा आउँछ । इंग्ल्यान्ड, स्पेन, फ्रान्स जर्मनी र इटालीको लिग निकै प्रतिस्पर्धात्मक मानिन्छ । जहाँ विश्वका उत्कृष्ट फुटबलको भेला हुन्छ । दक्षिण अमेरिकाका फुटबलरको सपना पनि यहीँको लिग खेल्न केन्द्रित हुन्छ । २१ वर्षका उमेरमा ब्राजिलका नेइमार जुनियर बार्सिलोनामा रेकर्डधारी मूल्यमा बिक्री भए । उरुग्वेका स्वारेज पनि यी टिममा छन् । पैसाको बलमा विश्वका क्षमतावान् खेलाडीलाई खरिद गर्न सक्ने क्षमता पनि युरोपमा नै छ ।