तालिबान आक्रमणमा चार प्रहरीको मृत्यु

गजनी/एजेन्सी– अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ । सो आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ । पछिल्लो समयमा अफगान सुरक्षाबलको हताहत संख्या बढेको छ । सन् २०१४ को डिसेम्बरबाट नेटोआवद्ध र अमेरिकी सेनाले अफगान युद्ध समाप्त भएको घोषणा गर्दै प्रायः सबै सेना त्यहाँबाट फर्किएका थिए ।

थोरै संख्यामा त्यहाँ बाँकी रहेका नेटोआवद्ध र अमेरिकी सेनाले पनि आतंककारीले जारी राखेको द्वन्द्वमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गरे । यद्यपी अफगानिस्तानमा बाँकी रहेका केही सेना अफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिने कार्यमा संलग्न छन् ।

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबादमा अफगान सुरक्षाबलको सवारी सधानलक्षित एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सो आक्रमणमा मारिएकामा प्रायजसो सर्वसाधारण रहेको अधिकारीले जानकारी दिएका छन् । यसलाई अफगानिस्तानमा भएका पछिल्लो भीषण आक्रमणको रुपमा लिइएको छ । मारिएका आठ जना सर्वसाधारण नै भएको पनि अधिकारीले जनाएका छन् । नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा तालिबान आतंककारी समूहले बारम्बार आक्रमण गरेको छ ।