विस्थापितलाई सहयोग गर्न आग्रह

जेनेभा/एजेन्सी– विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसिमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आग्रह गरेका छन् ।

महासचिव एन्टोनियो गुर्टेरेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुटेर्रेसले हालैमात्र म्यानमारबाट भागेर बंगलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिंग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको देखेको बताएका थिए ।

म्यानमारको सेनाले नै ज्यादती गरेपछि ती शरणार्थी भागेर बंगलादेश पुगेका हुन् । हाल त्यहाँ करिब आठ लाख शरणार्थी छन् । उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जीवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु ।’