ब्रेक्जिटले मे सरकारमा संकट

एजेन्सी/लण्डन ।

युरोपेली संघबाट बाहिरिने प्रक्रियामा रहेको बेलायतमा राजनीतिक संकट चुलिएको छ । सोमबारमात्रै ब्रेक्जिटमन्त्री डेभिड डेभिस र विदेशमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएपछि राजनीतिक संकटसँगै प्रधानमन्त्री थेरेसा मेको पद समेत खतरामा परेको विश्लेषण गर्न थालिएको छ ।

ब्रेक्जिट अर्थात युरोपेली संघबाट अलग हुनका लागि भएको जनमत संग्रहपछिको प्रक्रियालाई लिएर सत्तारुढ कन्जरभेटिभ पार्टीको सरकार र प्रधानमन्त्री मेको मन्त्रिपरिषदमा नै फुट देखिएको छ । ब्रेक्जिटको कडा लाइनमा रहेको समूहले प्रधानमन्त्री थेरेसा मेको सिद्धान्तले पूर्ण रुपमा युरोपेली संघबाट अलग हुन नसक्ने टिप्पणी गरेका छन् । उनीहरुका अनुसार केही क्षेत्रमा बेलायत र संघबीचको पुरानो सम्बन्ध जारी रहनेछ । उनीहरुले जनमत संग्रहमा जनताले अधुरो रुपमा नभई संघबाट पूर्ण रुपमा अलग हुने अभिमत प्रकट गरेको दाबीद समेत गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको निर्णयले बेलायतको एक पाइला युरोपेली संघबाहिर र अर्को पाइला संघभित्र हुने आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्रीको पक्षमा रहेकाहरुले भने अहिलेको अवस्थामा यो सबैभन्दा राम्रो उपाय भएको दाबी गर्छन् । उनीहरुले अन्तरनिर्भर अर्थव्यवस्थामा कसैले पनि छिमेकी देशबाट अलग भएर बस्न नसक्ने बताउँदै आएका छन् ।

दुई दिनअघि प्रधानमन्त्री मेको मन्त्रिपरिषदको बैठकले युरोपेली संघबाट अलग हुने उनको प्रस्तावलाई स्वीकृति दिएको थियो । तर, यसलगत्तै ब्रेक्जिटमन्त्री डेभिड डेभिस र विदेशमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । उनीहरु दुवै जना बेलायत युरोपेली संघबाट पूर्ण रुपमा बाहिर निस्कनुपर्ने पक्षमा रहेका नेता हुन् ।

विदेशमन्त्री बोरिस जोनसनले राजीनामा दिँदै ब्रेक्जिटको सपना मर्दै गएको भन्दै यसमा प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको प्रस्तावलाई मान्ने हो भने बेलायत युरोपेली संघको उपनिवेश बन्ने टिप्पणी गरेका छन् ।

पार्टी र सरकारबीचको संकटतर्फ मध्यनजर गर्दै विपक्षीले प्रधानमन्त्रीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ । बेलायतले युरोपेली संघबाट बाहिर निस्कने औपचारिक वार्ताको प्रक्रिया सुरु गरेको थियो । तर, संघ र बेलायतबीच सम्झौतामा ढिलाई भइरहेको छ । बेलायत २९ मार्च, २०१९ भित्र युरोपेली संघबाट बाहिरिसक्नेछ । तर, बेलायत र संघबीच ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि सम्बन्ध कस्तो हुने र व्यापार कसरी अघि बढाउने भन्ने विषयमा सहमति भइसकेको छैन । सम्झौतामा ढिलाई हुनुका पछि पनि ब्रेक्जिटको रणनीतिलाई लिएर सत्तारुढ कन्जरभेटिभ पार्टीमा रहेको असहमति प्रमुख कारक रहेको बताइएको छ । यस्तै ब्रेक्जिटपछिको सम्बन्धलाई लिएर बेलायत र संघबीचपनि विवाद रहँदै आएको छ ।

ब्रेक्जिटले बेलायतमा अनिश्चितताको माहौल सिर्जना गरिदिएको छ । बेलायत अलग भएपनि उसको अर्थव्यवस्था कस्तो हुन्छ र बेलायतमा रहने युरोपेली संघ आबद्ध देशका नागरिकको अवस्था के हुने भन्ने समेत टुंगो लागेको छैन ।