गुफामा फँसेका सबै १३ जनाको उद्दार

एजेन्सी/बैंकक ।

उत्तरी थाइल्यान्डको टेमलुंग गुफामा फँसेका सबै १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्दार गरेर बाहिर निकालिएको छ । आइतबारदेखि सुरु भएको उद्दारकार्य अन्तर्गत मंगलबार बाँकी रहेका चार जना बालक र उनीहरुका प्रशिक्षकलाई निकालिएपछि उद्दारको काम सम्पन्न भएको हो ।

यसलाई लामो र जोखिमपूर्ण अभियानका रुपमा लिइएको थियो । थाइल्यान्डको नेभी सिलले सबै १२ जना किशोर र उनीहरुका प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकालिएको जानकारी दिएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म एक डाक्टरसहित चार गोताखोर गुफाबाट बाहिर निस्कन बाँकी छ ।

सोमबार साँझसम्म ८ जना किशोरलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो । १२ जना फुटबल खेलाडी आफ्ना प्रशिक्षकसँग २३ जुनमा यो गुफामा गएका बेला भीषण वर्षाभएपछि फँसेका थिए ।

अँध्यारो र पानीले भरिएको कठिन गुफाबाट बाहिर सुरक्षित निकाल्ने अभियानलाई संसारभरको नजर थियो । बच्चाहरुलाई बाहिर निकाल्नुभन्दा अघि बाहिर निकाल्दा नडराउन भन्नका लागि औषधी खुवाइएको थाई प्रधानमन्त्रीले बताएका थिए । तर हाल आएर प्रधानमन्त्री प्रयुत चान–ओचाले बेहोस हुने औषधी दिएको रिपोर्टको खण्डन गरेका छन् ।

उनले बच्चाहरुलाई डर निवारक औषधी दिएको बताए । यो औषधी सैनिकहरुले खाने गरेको बताइएको छ । उनले भने, ‘यो औषधी खाएपछि हाम्रो ध्यान अधिक केन्द्रीत हुन्छ र सार्प शुटिङ राम्रो हुन्छ ।’

गुफाबाट बाहिर निकालिएका सबै बच्चाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको थाइल्यान्डका एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयका स्थायी सचिव जिसेदा चोकदेम्रोगसुकले भने, ‘सबै बच्चाहरुको स्वास्थ्य राम्रो छ । उनीहरुलाई कुनै प्रकारको शारीरिक समस्या छैन र सबैको मानसिक अवस्था पनि ठीक छ ।’ उनीहरु सबैको एक्सरे र रगत जाँच गराइएको थियो । यद्यपि दुई जना बच्चाहरुमा फोक्सको सामान्य संक्रमण रहेको र उनीहरुको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई कम्तिमा पनि ७ दिन चिकित्सकको निगरानीमा अस्पतालमा राखिने भएको छ ।

केही बच्चामा शरीरको तापक्रम कम रहेको र केहीको मुटुको चाल केही कम भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले बच्चाहरुलाई तयारी खाना र इनर्जी जेल सहित सजिलै पचाउन सक्ने खाना दिइएको बताएका छन् ।

बच्चाहरुलाई उनीहरुका परिवारका सदस्यहरुले प्रत्यक्ष रुपमा भेट गरेका छैनन् । केही बच्चाले अस्पतालको झ्यालको सिसाबाहिर आफ्ना बाबुआमालाई देखेका थिए । उनीहरुलाई केही दिनमा अर्को स्वास्थ्य परीक्षण गरेर कुनै संक्रमण नभएको स्पष्ट भएपछि परिवारका सदस्यलाई भेट्न दिइनेछ ।

गुफामा फँसेका बच्चाहरुलाई निकाल्न ४० देखि ५० जना विदेशी गोताखोर संलग्न भएका थिए । उनीहरुले यो चुनौतीपूर्ण अभियान तेस्रो दिनमा पूरा गरेका हुन् । एक जना बच्चाको उद्दारका लागि दुई जना गोताखोर खटिएका थिए । उनीहरुलाई अँध्यारो र पानीले भरिएको गुफाबाट सुरक्षित रुपमा बाहिर निकाल्नु कठिन काम थियो ।

गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको थियो । एकजना बेलायती गोताखोरले सो कुरा पत्ता लगाएका थिए ।

उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको थियो ।

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार, सोमबार र मंगलबार यिनै चिम्नीबाट किशोर र उनीहरुका प्रशिक्षकलाई बाहिर निकालिएको हो ।