अध्यक्ष विरुद्ध प्रदर्शन

राजधानी संवाददाता/राजविराज

गाउँपालिकाबाट भए÷गरेका कामहरुबारे सूचना लिन जाँदा अध्यक्षले कार्यकर्ता लगाई कुटपिट गराएको भन्दै जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाका अरुण मण्डलको अगुवाईमा मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई भेटेर कार्यवाहीका लागी पहल गर्न माग गरेका छन् ।

मण्डल गत स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार दिए । राजपाका तर्फबाट अध्यक्ष पदमा निर्वाचित सतिश सिंहले मनपरी ढंगले काम गरेको भन्दै हाल सम्म भए÷गरेका विकास निर्माण कार्यको विवरण माग्न जाँदा सूचना लुकाएको र कार्यकर्ता परिचालन गरी कुटपिट गराएको मण्डलको आरोप छ ।

अघिल्लो दिन सूचना माग्न जाँदा राजविराज स्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा अध्यक्ष सिंहले कार्यकर्तालाई उक्साएर आफु माथि कुटपिट गर्न लगाएको मण्डलले बताए ।

बजार क्षेत्रमा अध्यक्ष सिंह विरुद्घ चर्को नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर निमित प्रमुख जिल्ला अधिकारी नर बहादुर खडकालाई उनीहरुले निवेदन दिदै कार्यवाहीको माग गरेका छन् । जुलुसमा सहभागी काँग्रेस सप्तरीका सभापति दिनेश यादवले अध्यक्ष सिंहले आर्थिक अनियमितता गरेको दावी गर्दै अनियमितता ढाकछोप गर्न सूचना लुकाएको र सूचना माग्नेलाई कार्यकर्ता लगाएर कुटपिट गरी तानासाही शैली देखाएको बताए ।

उनले अध्यक्ष सिंह माथि कार्यवाही गर्न दवाव दिने उद्देश्यले नगर क्षेत्रमा प्रर्दशन गरी विरोध कार्यक्रम गरिएको बताए । यता अध्यक्ष सिंहले सो आरोप निराधार भएको बताएका छन् । उनले भने, कार्यालय भित्र त्यस्तो कुनै घटना भएको छैन । बाहिर कसले के गर्यो त्यो थाहा भएन ।