संसदीय सुनवाइ समिति कार्यविधि बनाउन उपसमिति

राजधानी समाचारदाता/काठमाडौं।

संसदीय सुनुवाइ विशेष समितिले कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । बैठक सञ्चालन विधि र प्रक्रियाका विषयमा एकरूपता ल्याउन कार्यविधि बनाउने निर्णयसहित समितिले यस्तो उपसमिति गठन गरेको हो ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषद्ले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि ज्येष्ठ सदस्य कर्णले बताए । समितिले सभापति चयन प्रक्रियामा ढिलाइ नगर्ने पनि स्पष्ट पारेको छ । ज्येष्ठ सदस्य कर्णका अनुसार नियमावलीमा गरिएको व्यवस्थाअनुसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूची तय गरिएको छ ।

१५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापा मगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदाश प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यसैगरी, राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जितेन्द्रनारायण देव समितिमा रहेका छन् ।