रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुस्त गतिमा

राजधानी संवाददाता/ललितपुर।

रातो मत्स्येन्द्रनाथको मन्दिर पुनर्निर्माणको काम निकै सुस्त बन्न पुगेको छ । ललितपुर महानगरपालिकाको बुङमतीमा रहेको उक्त मन्दिर पुनर्निर्माणको काम निर्धारित मितिमा नसकिएपछि ठेकेदारको म्याद थपिएको छ ।

यही अवस्था कायम रहे आगामी ६ महिनामा पनि पुनर्निर्माण नसकिने पुनर्निर्माणमा खटिएका पुरातŒव विभागका अधिकारीहरूले नै बताउने गरेका छन् । सन् २०१८ जुनभित्र सक्नुपर्नेमा नसकेपछि ठेकेदार कम्पनीको म्याद थप गरिएको हो । पुरातŒवले ठेकेदार कम्पनी प्रेरा भेगिम तुल्सी जेभीसँगको म्याद ६ महिनाका लागि थप गरिदिएको हो ।

१२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको मत्स्येन्द्रनाथ पुनर्निर्माण भइरहेको छ । मत्स्येन्द्रनाथमा काठको बिम राख्ने काम सकिएको छ । यसैगरी, झ्यालढोका राख्ने काम सुरु भएको विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए । उनका अनुसार थपिएको ६ महिनामा पनि प्रगति भएन भने ठेक्का रद्द हुने सम्भावना हुन्छ । त्यसैगरी, थपिएको म्यादमा पुर्निर्माणको काम सम्पन्न हुने छाँट देखिए यसको म्याद थप्न सकिने उनले बताए ।

२ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान थाल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रातो मत्स्येन्द्रनाथको मन्दिरबाट अभियान सुरु गरेका थिए । पुनर्निर्माणमा ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावको कुरा देखाएको छ भने पुरातत्वका अधिकारीहरूले पुनर्निर्माणमा तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् । भूकम्पले मन्दिर भत्किएपछि रातो मत्स्येन्द्रनाथ मूर्तिलाई बुङमतीमै अस्थायी टहरो बनाएर राखिएको छ । हरेक वर्ष मत्स्येन्द्रनाथको रथयात्रा मनाइन्छ । सहकालका देवताका रूपमा मछिन्द्रनाथ रथजात्रालाई उपत्यकाको ऐतिहासिक महŒव बोकेको जात्राको रूपमा लिइन्छ ।

रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मत्स्येन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मत्स्येन्द्रनाथको प्रवेशले सहकाल ल्याएको जनविश्वास छ । पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई रातो मत्स्येन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो । गुरु गोरखनाथ नवनागको आसन बनाई बसिदिएका कारण १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजू, ललित ज्यापू तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई रातो मत्स्येन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको थिए । आप्mना गुरु मत्स्येन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मत्स्येन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा, भोटो देखाउने जात्रा पनि पर्दछन् ।