ने क पा नियमावली आज टुंगिने

राजधानी समाचारदाता/काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नियमावलीलाई बुधबार (आज) बस्ने सचिवालय बैठकले अन्तिम रूप दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको विधान र नियमावली विषयमा छलफल गर्दै बुधबार पुनः बैठक बसेर अन्तिम रूप दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि बसेको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको थियो । नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको तीन सदस्यीय कार्यदलले बुधबारको बैठक नेताहरूबाट आएको सुझाव समेटेर नियमावली बुझाएको छ ।

पार्टीका नेताहरूले लिखित एवं मौखिक रूपमा दिएका सुझाव समेटेर परिमार्जनसहित नियमावली तयार भएको र सचिवालय बैठकले छलफल गर्दै पारित गर्ने, प्रकाशनका लागि प्रेसमा पठाउनुका साथै सरकारका कामबारे समीक्षा गर्ने एजेन्डा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टीको विधान एवं नियमावलीको अभावका कारण पार्टीको प्रदेश, जिल्लादेखि तलसम्मको कमिटी एवं भ्रातृ संगठनहरूको एकता प्रक्रियामा समेत समस्या भइरहको छ । सोही कारण यी कमिटीहरूको एकतामा ढिलाइसमेत भइरहेको नेताहरूले बताएका छन् ।

प्रदेश, जिल्ला एवं भ्रातृ संगठन एकताका लागि गठन भएको विभिन्न कार्यदलको काम सुस्त भएकाले समेत एकता प्रक्रियामा ढिलाइ भएको छ । विभिन्न २२ भ्रातृ संगठनका लागि गठन भएको छुट्टाछुट्टै कार्यदलमध्ये केहीबाहेक कसैको बैठक हुन सकेको छैन । अधिकांश कार्यदलले अहिलेसम्म बैठकसमेत गर्न नसकेका कारण एकता प्रक्रिया लम्बिएको हो ।