नाई नभन्नु ल १२ सम्म प्रियंका र अनुभव

 राजधानी समाचारदाता/काठमाडौं।

चलचित्र नाई नभन्नु ल–५ मा यसअघिका शृंखलाका दुई जना कलाकारलाई मात्र दर्शकले देख्न पाउनेछन् । नाई नभन्नु ल २ देखि नियमित अभिनय गर्दै आएका प्रियंका कार्की र बालकलाकार अनुभव रेग्मी नाई नभन्नु लको पाँचौं शृंखलामा पनि छन् । यी दुई कलाकार आगामी नाई नभन्नु ल १२ सम्म हुने घोषणा यसका निर्माता एवं निर्देशक विकास आचार्यले बताएका छन् ।

मंगलबार राजधानीको क्युज सिनेमामा नाई नभन्नु ल ५ को ट्रेलर रिलिज गर्दा निर्देशक आचार्यले नाई नभन्नु ललाई १२ सम्म बनाउने योजना सुनाए । १२ सम्म नै प्रियंका र अनुभव हुने त्यसपछि अनुभवलाई नायकका रूपमा उतार्ने योजना पनि सुनाए ।

‘प्रियंका र अनुभव नाई नभन्नु लका ब्रान्ड हुन् र उनीहरू नाई नभन्नु ल १२ सम्म हुनेछन् । बाँकी हरेक कलाकार परिवर्तन भइरहनेछन्,’ निर्देशक आचार्यले भने । पूर्ण पारिवारिक र वियोगान्त कथामा आधारित नाई नभन्नु ल ५ मा सोही कारण अरू नयाँ, पुराना कलाकार लिएको पनि उनले बताए ।

नाई नभन्नु ल ५ मा प्रियंका र अभुनवसँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्धि तामाङ छन् । नव अभिनेता अभिषेक नेपाल र बाल कलाकार सेड्रिना शर्मा यही चलचित्रबाट डेब्यु हुँदै छन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै यो चलचित्रका लेखक सामीप्यराज तिमिल्सिनाले विगतका नाई नभन्नु लको तुलनामा यो शृंखला प्राविधिक रूपमा निकै माथिको चलचित्र बनेको बताए ।

यो चलचित्रमा हरिबोल भण्डारी, गौरी जोशी, दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल निर्माता रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन यसमा रहेको छ ।