मृत्यु भएको भनिएका व्यक्ति जीवितैै

राजधानी संवाददाता/तुलसीपुर।

तुलसीपुरमा बसले किचेर मृत्यु भएको भनिएका व्यक्ति जीवितै फेला परेका छन् । इ–बसले किचेर मृत्यु भएका भनिएका व्यक्ति, शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका  लक्षीराम बिटालु परिवारको सम्पर्कमा आएपछि उनी जीवित भएको पुष्टी भएको  हो ।

बिटालुका छोरा  धनबहादुर विकले मृतक व्यक्ति आफनो बाबु भएको प्रहरी सामु दाबी गरेका थिए  । यसैका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि मृतक बिटालु नै भएको सञ्चारमाध्यमलाई जानकारी दिएको थियो ।

बसले किचेर बिटालुको मृत्यु भएको खबर पाएलगत्तै उनकी श्रीमती, छोरा, छोरी, बुहारी र छिमेकी घटनास्थलदेखि राप्ती अञ्चल अस्पतालको पोष्टमार्टम गृहमा पुगी रोइकराई गरेका थिए । मंगलबार बिहान साढे १० बजे घटना भए पनि दुवै पक्षले शवमाथि दाबी गरेपछि प्रहरी अन्योलमा परेको थियो ।

घटना मंगलबार बिहान साढे १० बजे भए पनि शवको दावविाला दुई पक्ष भएपछि  प्रहरीले करिब ३ घन्टा तनाब बेहोरेको थियो । आफुलाई मृतकको भतिजा बताउने ओमेन्द्र वलीले आफनो काका र धनबहादुरले  आफनो बाबु भएको भन्दै दाबी गरेपछि प्रहरी अन्योलमा परेको थियो । घटना भएलगत्तै  विकले मृतक आफनो बाबु भएको दाबी गरेपछि प्रहरीले सञ्चारमाध्यमलाई बिटालुकै नाम दिएको थियो ।

शव दाबी गर्नेहरू बीच विवाद बढ्न थालेपछि मृतकको झोला जाँच गर्ने क्रममा  रुकुम खलङ्गा–४ निवासी  ६७ वर्षका बलबहादुर खड्का नाम गरेको नागरिकता फेला परेको थियो । आमेन्द्र लगायतका आफन्त र नागरिकताको आधारमा मृतक रुकुमका बलबहादुर खड्का रहेको पुष्टि भएको थियो ।

तुलसीपुरको बसपार्कमा सडक पार गर्ने क्रममा ना ५ ख ५७६८ को बसले पैदलयात्रु खड्कालाई बिहान करिब साढे १० बजे किचेको थियो । यात्रुलाई ठक्कर दिएलगत्तै सवारी चालक भागे पनि बसलाई पनि भने प्रहरीले नियन्त्रणमा लिएको छ ।