महाकाली पुलमा चार पाङग्रे सवारी साधन बन्द

तटीय क्षेत्रका बासिन्दाहरू त्रसित

सुरेश पन्त
महेन्द्रनगर, २७ असार– नेपाल र भारतको पहाडी क्षेत्रमा अविरल वर्षा भउपछि महाकाली नदीमा बुधबार पानीको बहाव बढेको छ ।

पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको दुवैतर्फको आवागमन बन्द गरिएको छ ।

भारतीय पक्षले बुधबार तेस्रो पटक अपराह्न १ बजेपछि पुलमा चार पाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको हो । झण्डै ९० वर्ष पुरानो भएकाले पानीको बहाव बढेसंगै पुलको आवागमन भारतीय पक्षले रोक्दै आएको छ ।

नदीमा १ लाख प्रतिसेकेन्ड क्युसेक पानी समान्य मानिए पनि पुलको अवस्थाका कारण त्यो भन्दा माथि गए सवारी रोक्ने गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इञ्चार्ज डिकरदेव पन्तले बताए ।

उनका अनुसार दिउँसो ४ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक मापन छ । नदीमा रहेको दुवैतर्फको स्वामित्व भारतकै उत्तर  प्रदेस सरकारको नियन्त्रणमा रहेको छ ।

पुलमा पैदल यात्री, मोरटसाइकललाई गुड्न दिइए पनि चारपाङ्ग्रे सवारी साधनमा भने पूर्ण रोक लगाइएको छ । पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले पानीको बहाव अझै बढिरहेको छ ।

यता, नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन् । तीन दिन अघि मात्रै पानीको उच्च बहावका कारण पुल दुई दिनका लागि बन्द गरिएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ । सुरक्षा निकाय पनि एलर्ट रहेको छ ।