ठाकुरबाबा नगरपालिकाको जनप्रतिनिधिद्धारा नगरसभा बहिस्कार

सुदीप अधिकारी/ बर्दिया।

जिल्लाको ठाकुरबाबा नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाटनिर्वाचित वडा नम्बर ७ का जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरसभामा विनियोजन विधेयकमाथि छलफल गर्ने अवसर नै नदिई एकलौटी ढंगबाट सभा सञ्चालन गरेकाले आफुहरुले सभा बहिस्कार गरेको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष पदम खडकाले बताए । नगरसभामा विनियोजन बजेटमाथि नगरसभा सदस्यले सभामा बोल्न तथा छलफल गर्न पाउने सदस्यको अधिकारलाई नगरप्रमुख तथा नगरसभा अध्यक्ष घननारायण श्रेष्ठले अंकुश लगाई आफूखुशी एकलौटी ढंगले नगरसभा सञ्चालन गर्न खोजेकाले नगरसभा बहिस्कार गर्नु परेको वडा अध्यक्ष खड्काले बताए ।

नगरप्रमुखले एकलौटी ढंगले नगरसभा सञ्चालन गरी सभामा पेश भएको विनियोजन विधेयकमाथि छलफल नगराई पारित भएको घोषणा गरेको वडा अध्यक्ष खड्काले आरोप लगाएका छन् । वडाध्यक्ष खडकासँगै नगरकार्यपालिका सदस्य राजकली रोकाय, वडा सदस्यहरु कलम बिष्ट, भागिराम थारु, सुक्मा लोहारले पनि बजेट माथि असहमती जनाउँदै सभाबाट बाहिरिएको वडा अध्यक्ष पदम खड्काले जानकारी दिए । बजेट माथि आफना भनाई, विचार, सुझावहरु नगरसभामा राख्न नदिई बजेटमाथि छलफलै नगरी सदस्यहरुको स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाएकाले वडा अध्यक्ष खड्काले आरोप लगाएका छन् । नगरप्रमुखले नगरसाभालाई दवावमा संचालन गर्न खोजेको खड्काको भनाई छ । वडा अध्यक्ष खड्काले भने, ‘ सभामा समय छोटो छ । कसैले पनि विरोध नगर्नुस् है भन्दै कार्याक्रम माथि छलफल नै नगरि तानाशाही ढंगबाट नगरसभा संचालन गरिएको हुँदा यसमा हामीहरुको आपत्ती रहेको हो । ’ बजेट वितरण न्यायोचित ढंगबाट नगरेको अध्यक्ष खड्काको आरोप छ ।

नगरपालिकामा गठन गरिएका विभिन्न समितिहरु अपारदर्शी तथा मनोमानी ढंगबाट गठन गरिएको वडा अध्यक्ष खड्काको आरोप छ । खड्काले भने, ‘ विभिन्न समिति गठन गर्दा राजनितिक नियुक्ति जस्तै गरी समिति बनाइएको छ ।’
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले भने वडा नं ७ का सबै जनप्रतिनिधीले सभा बहिस्कार नगरेको जिकिर गरे । नगरप्रमुख श्रेष्ठले भने, ‘त्यस्तो खासै केही होइन । नगरसभामा पेस गरिएको प्रस्तावमा केही असहमती जाहेर गरेर दुई जना जनप्रतिनिधि सभाबाट बाहिरिनु भएको हो । बाँकी सबैको सहमतीमा कार्याक्रम पारित भएको छ । ’

बजेट माथी छलफल गर्न नदिएको भन्ने वडा अध्यक्षको आरोप गलत रहेको नगरप्रमुख श्रेष्ठले दावी गरे । नगरप्रमुख श्रेष्ठले भने, ‘ छलफल गर्न नदिएको भन्नु गलत हो । नगरसभा सदस्यहरुलाई प्रस्तावहरु अघिल्लो दिन नै प्रस्तुत गरेर अध्ययनका लागि समय दिएर छलफलका साथ पारित गरिएको हो । ’
नगरसभा बहिस्कार गर्ने वडा अध्यक्षले आफनो वडामा बजेट कम विनियोजन गरिएको भन्ने गुनासो गरेको नगरप्रमुख श्रेष्ठले बताए । ‘ वडामा थोरै पैसा गयो भन्ने उहाँहरुको गुनासा थिए । हामी निश्चित मापदण्ड बनाएर वडाका लागि बजेट छुट्याएको हो, नगरप्रमुख श्रेष्ठले प्रष्ट पार्दै भने,’ ‘दामासाहीले बजेट बाड्नु पर्छ भन्ने उहाँको भनाई थियो । देशैभरिको नगरपालिकाले दामासाहीले बाडेको छैन । हामीले पनि बाड्ने कुरै भएन ।’
ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०७५– ०७६ का लागि ६६ करोड ६७ लाख बराबरको बजेट पारित गरेको छ ।