उदासीन विकास

उदासीन विकास

कुल बजेटको ७६ प्रतिशत र विकास बजेटको ६० प्रतिशत मात्रै खर्च भयो । यस वर्ष पनि आर्थिक वर्ष सकिन मात्रै पाँच दिन बाँकी छ । अहिलेसम्मको तथ्य हेरेरै थाहा पाउन सकिन्छ हाम्रोमा विकास गर्ने स्टाइल अझै कति परम्परागत छ । पञ्चायतकाल छउन्जेल विकास नहुनुको दोष पञ्चायती सरकारलाई लगाए । २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि विकास नहुनुको दोष प्रतिपक्षमा बस्नेहरूले सरकारलाई लगाइरहे । सरकारमा बस्नेले प्रतिपक्षमा बस्नेको रचनात्मक सुझावलाई कहिल्यै सुझावको रूपमा लिएनन्, मात्रै आरोपका रूपमा बुझे । माओवादी जनयुद्ध, २०६२÷६३ सालको आन्दोलन हुँदै अहिले मुलुकमा इतिहासकै शक्तिशाली सरकार छ । राम्रो काम गर्नका लागि सरकारलाई कुनै पनि कुराले रोक्दैन ।

बर्षायाममा हतारहतार केही काम गरेजस्तै ग¥यो भने राम्रै कमिसन पाइन्छ । बर्खामा बाटो बनाएर वा ढल खनेर आयआर्जन गर्नेमा कर्मचारी, ठेकेदार र केही दलका नेतासमेत अभ्यस्त भइसकेका छन् । त्यसकारण हरेक बर्खामा काठमाडौंलगायत मोफसलका सहरमा समेत यसैगरी काम गर्ने चलन छ

एकथरी मान्छे भन्ने गर्छन्– कुनै पनि मुलुकको विकास त्यतिबेला सम्भव हुन्छ, जब सत्तामा विकासको मार्गचित्र कोर्न सक्ने व्यक्ति पुग्छ । अर्को पनि भनाइ छ– पात्र फेरिएर मात्रै हुँदैन, सबैभन्दा पहिला प्रवृत्ति फेरिनुपर्छ । विकास बजेटको ६० प्रतिशत मात्रै खर्च भएको यो पहिलोपटक होइन । विगतमा पनि हरेक वर्ष यस्तै हुन्थ्यो । विगतकै तुलनामा यसपालि पनि विकास बजेटको ६० प्रतिशत मात्रै खर्च हुनुको अर्थ हो पात्र फेरिए तर प्रवृत्ति फेरिएन । प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै भने, ‘मेरो कार्यकालमा भ्रष्टाचार हुन्न, बर्खेपिच कहीँ पनि हुन्न ।’ अहिले काठमाडौंका प्रत्येक गल्लीगल्लीमा स्काभेटरले बाटो खन्दै छन् । कहीँ ढल निर्माणको काम हुँदै छ त कहीँ धमाधम बाटो पिच हुँदै छ । असार, साउन र भदौमा बाटो, ढललगायतका भौतिक पूर्वाधार निर्माणका काम गर्नुहुँदैन भन्नेमा सिंहदरबारभित्र बस्नेहरू जानकार नभएका होइनन् । तिनलाई यो पनि थाह छ, यही याममा हतारहतार केही काम गरेजस्तै ग¥यो भने राम्रै कमिसन पाइन्छ । बर्खामा बाटो बनाएर वा ढल खनेर आयआर्जन गर्नेमा कर्मचारी, ठेकेदार र केही दलका नेतासमेत अभ्यस्त भइसकेका छन् । त्यसकारण हरेक बर्खामा काठमाडौंलगायत मोफसलका शहरमा समेत यसैगरी काम गर्ने चलन छ ।

सरकारले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाए पनि समृद्धिका लक्षण नदेखिँदा एकथरी निराश छन् । सर्वसाधारणमा देखिएको त्यो निराशाका बारेमा सिंहदरबारभित्र बस्नेहरू जानकार छैनन् । यदि, त्यसो हुँदो हो त असारमा काठमाडौंको सडकमा सर्वसाधारणले रोपाइँ गर्दै सरकारलाई व्यंग्य गरेको समाचार सार्वजनिक हुँदैनथ्यो होला । विकास बजेट खर्च नहुनु एकखालको रोग नै भइसकेको छ । समयमा विकास बजेट खर्च नहुनुमा ठेकेदार, कर्मचारी र सरकार तिनै पक्ष दोषी छन् । यसपालि जे हुनु भइसक्यो फेरि अर्को वर्ष यही समस्या नदोहोरियोस् भन्नका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनैपर्छ । जबसम्म कामको जिम्मा लिएर काम नगर्ने र कामको जिम्मा दिएर पनि अनुगमन नगर्नेहरूलाई कारबाहीको व्यवस्था हुँदैन, तबसम्म समस्या जारी नै रहनेछ ।