प्रधानमन्त्रीको आदेश– खाल्डो पुर्नुस्

टेनिस रोका/काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिन्डिकेट सदाका लागि अन्त्य गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई ठाडो आदेश दिएका छन् । प्रधानमन्त्री ओलीले कलंकी–थानकोट तथा चाबहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी चाँडो पुर्न आदेश दिएका हुन् ।
प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको कार्यालयले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव तथा पदाधिकारीसँग छलफल गर्दै सिन्डिकेटको दीर्घकालीन अन्त्यका लागि उपयुक्त कार्ययोजना बनाउन निर्देशन दिए ।

प्रधानमन्त्रीले चाबहिल–बौद्ध–जोरपाटी, कलंकी–थानकोटलगायत सडक निर्माणमा भएको ढिलाइप्रति भौतिक मन्त्रालयसँग असन्तुष्टि जनाए । मन्त्री महासेठले भने ५० दिनभित्र महसुस हुने गरी सुधार गर्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव विनोद कुँवरका अनुसार नेपालको यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भइसकेको बेहोरा स्मरण गराउँदै सार्वजनिक यातायातलाई कम्पनीमा रूपान्तरण गर्नेलगायतका आवश्यक कार्यहरु तत्कालै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन थियो ।
प्रधानमन्त्री ओलीले सार्वजनिक यातायातलाई भरपर्दो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला अपांगलगायतलाई प्रदान गरिने आरक्षण सिट सुविधाको उपभोगलाई सहज बनाउन पनि निर्देशन दिएका छन् ।

ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिए । मन्त्री महासेठले सडक बत्ती, चाबहिल–बौद्ध–जोरपाटी सडक र कलंकी–थानकोट सडक तथा उपत्यकामा सडकका खाल्डाखुल्डीको व्यवस्थापन गराएरै छाड्ने बताए ।