पाकिस्तानमा निर्वाचन अभियानमा तिव्र

एजेन्सी/इस्लामाबाद ।

पाकिस्तानमा यही २५ जुलाईमा हुन लागेको आम निर्वाचनका लागि त्यहाँका राजनीतिक दलहरुले प्रचार अभियान तिव्र बनाएका छन् । पाकिस्तान निर्वाचन आयोगले निर्वाचनका लागि प्रचारप्रसार अभियान सुरु भएको जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन अभियान सुरु भएको जानकारी गराउँदै सेनाले स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास गरेको छ । यो निर्वाचन अभियानसँगै विभिन्न स्थानमा हिंसा भड्किएको छ ।

पाकिस्तानमा निर्वाचन अभियान सुरु भएसँगै हिंसा भड्किने आशंकाबीच भएको हिंसात्मक घटनामा केहीको मृत्यु भएको जनाइएको छ । सो आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरुरको मृत्यु भएको छ । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए ।

सो राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । सो दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिबानले विरोधको तारो बनाएका छन् । सो हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएको छ । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा सुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको हो । निर्वाचन अभियानको पहिलो दिन नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् ।

सेनाको भूमिका नहुने

यसैबीच, आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले सेनाले सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरु खट्ने जानकारी दिएका हुन् ।

पाकिस्तानी सेनाले आगामी निर्वाचनको विषयलाई लिएर सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दबाब सिर्जना गर्न खोजेको भनी आरोप लागेका बेला सैनिक प्रवत्ताको यस्तो भनाई बाहिर आएको हो । पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताएका हुन् ।