गुफामा फँसेकाको उद्धारपछि खुशियाली

बैंकक/एजेन्सी– थाइल्यान्डमा १८ दिनदेखि एक गुफामा थुनिएका सबै १३ जनाको सफलतापूर्वक उद्दार गरिएपछि बुधबार खुसियाली छाएको छ । थाइल्यान्डमा मात्र नभएर विश्वकै सञ्चारमाध्यमको ध्यानाकर्षण गरेको यो घटनाबारे बुधबार विश्वका सञ्चारमाध्यममा प्रमुख खबर बनेको छ ।

आइतबारदेखि सुरु भएको उद्दार अभियानअनुसार मंगलबारसम्म गरी तीन दिन लगाएर १२ जना किशोर र उनीहरुका १ जना फुटबल प्रशिक्षकलाई गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् ।

फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएपछि गुफामा पसेका र बाढीले गुफा भरिदै गएपछि १८ दिनदेखि त्यहाँ थुनिएका थिए ।

थाई नौसैनिक र गोताखोरको समूहले फसेका सबैजनालाई सकुशल उद्धार गरेको हो । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मंगलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीले खुशियाली साटासाट गरेका थिए ।

उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए । यसैगरी सोमबार चार र मंगलबार पाँचजनाको उद्धार गरिएको हो । मंगलबार निकै ठूलो वर्षा भएपछि गुफामा फँसेको बाढीको बहाव झनै बढेको थियो ।

पानीको बहाब बढेपछि बाँकी रहेका पाँच जनालाई उद्दार गर्न कठिनाई हुने अनुमान गरिएपछि अनुभवी गोताखोरले सबैजनाको उद्दार गरेका थिए । उद्दार गरिएका सबै १३ जनालाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहँदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् ।

उनीहरुलाई हेर्न आफन्त अस्पताल पुगेका थिए । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा ओचाले पनि अस्पताल मै पुगेर सबै १३ जनालाई भेटेको बताइएको छ ।

यसैबीच बुधबार उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली मनाइएको छ । ती बालकको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ ।

त्यसैगरी उनीहरुका गाउँमा आफन्तले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरलाई विशेष धन्यवाद दिएका छन् । थाइल्यान्ड सरकारले पनि उद्धारकार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ ।