बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

लण्डन/एजेन्सी– बेलायतले अफगानिस्तानमा थप ४ सय ४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा थप सेना पठाउन नेटो गठबन्धन राष्ट्र बेलायतलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री मेले ती सेनाहरु वेल्स गार्डस् रेजिमेन्ट्सबाट पठाइने जानकारी दिइन् । साथै ४ सय ४० सेनामध्ये आधालाई आगामी अगष्ट महिनामा र अन्य आधालाई भने आगामी वर्षको फेब्रुअरीमा पठाइने जानकारी दिएको जनाइएको छ । ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उनले दिएको जनाइएको छ ।

यो सहित अफगानिस्तानमा बेलायती सेनाको संख्या एक हजार १ सय पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् । तीमध्ये करिब १३ हजार जना अमेरिकी सैनिक मात्र रहेको ब्रसेल्समा आयोजित सो नेटो बैठकमा जानकारी गराइएको थियो ।