बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

एजेन्सी/मस्को।

फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आइतबार हुने फाइनलमा स्थान सुरक्षित गरेसँगै फ्रान्स विश्वकपको दोस्रो उपाधि जित्ने लक्ष्यका साथ तयारीमा जुटेको छ ।

फ्रान्सका लागि सैमुअल उमटिटीले निर्णायक गोल गरेका थिए । उनले ग्रिजम्यानको कर्नरमा खेलको ५२औं मिनेटमा हेड गोल गरेका थिए । बेल्जियमले ६४ प्रतिशत समय बल आफ्नो पक्षमा राखेका थियो तर फ्रान्सको टिमले उत्कृष्ट आक्रमण बुनिरहेकाले ऊ जितको हकदार रहेको देखिन्थ्यो । फ्रान्सले विश्वकपको इतिहासमा बेल्जियमलाई लगातार तेस्रोपटक हराएको हो ।

चेल्सीका पूर्वफुटबल नेविनले भने, ‘दोस्रो हाफमा बेल्जियमले स्कोर गर्ने गरी एकपटक पनि मुभ सिर्जना गर्न सकेन । फ्रान्सको टिम उत्कृष्ट भइरहेको छ ।’

बेल्जियमका खेलाडीसँग दुई तिहाइ समयसम्म फुटबल रह्यो तर उनीहरूले ९ पटक मात्र गोलका लागि प्रयास गरे । जबकि फ्रान्सले कम समय बल निणयन्त्रणमा गरेको भए पनि गोल पोस्टमा १९ पटक प्रहार गर्दै गोलका लागि प्रयास गरेका थिए । पछिल्लो ६ विश्वकपलाई हेर्ने हो भने फ्रान्स तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । सन् १९९८ मा त ऊ च्याम्पियन बनेको थियो । ६ विश्वकपमा तीनपटक फाइलन पुग्ने फ्रान्स एक्लो टिम हो । यस बीचमा ब्राजिल र जर्मनीले २÷२ पटक फाइनलमा स्थान बनाएका थिए । फ्रान्सले पहिलोपटक सन् १९९८ त्यसपछि सन् २००६ मा फाइलनमा स्थान बनाएको थियो ।

मंगलबार बेल्जियमका खेलाडीलाई भाग्यले पनि साथ नदिएको इंग्ल्यान्डको मिडफिल्डर मर्फीले बताए । अर्काे टिमले रक्षात्मक खेलिरहेको समयमा जोखिम मोलेर टिमले आक्रमण बुन्नुपर्ने थियो तर बेल्जियमले त्यो गर्न नसकेको फुटबल पण्डितहरूको विश्लेषण छ ।

बेल्जियम पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । दुवै टिमले होसियारीपूर्वक खेल सुरुवात गरेका थिए । बेल्जियमको टिम सुरुवातमा केही आक्रमक देखिएको थियो । ५औं मिनेटमा एडन हेजार्डको पासको क्रसलाई फ्रान्सका डिफेन्डरले क्लियर गरेका थिए । त्यसपछि पाएको कर्नर प्रहारमा नासेर चाडलीले दिशाहीन सट प्रहार गरेसँगै त्यसको फाइदा उठान सकेन ।

१०औं मिनेटमा फ्रान्सले पनि राम्रो मुभ निकालेको थियो । जसलाई बेल्जियमका डिफेन्डरले सहज रूपमा क्लियर गरिदिएका थिए । पहिलो हाफमा बेल्जियमको टिमले लगातार आक्रमण गर्ने प्रयास गरेको थियो । तर, ऊ सफल हुन सकेन । केविन डि ब्रुइनको क्रस बललाई हेजार्डले आकर्षक प्रहार गरे तर त्यो प्रहारले जाली चुम्न सकेन ।

मंगलबारको खेलमा हेजार्डले उत्कृष्ट खेल पदर्शन गरेका थिए । फ्रान्सले पनि केही उत्कृष्ट मुभलाई पहिलो हाफमा स्कोरमा बदल्न सकेन । जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको खेल सुरु भएको छैटांै मिनेटमा पहिलो गोल भएको थियो । फ्रेन्च स्टार खेलाडी एन्टोइन ग्रिजम्यानको क्रममा फ्रान्सका डिफेन्डर सैमुअल उमटिटीले हेड गोल गरेका थिए । त्यसपछि फ्रान्सले अन्तिम समयसम्म आफ्नो डिफेन्स लाइन बलियो राख्यो । बेल्जियमले निकैपटक उसको डिफेन्स लाइन तोड्ने कोसिस ग¥यो । अन्तिम ५ मिनेटमा उसले फ्री किकको अवसर पाएको थियो तर स्कोर गर्न सकेन ।