धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’

म्याग्दी/रासस–धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेती विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम सुरु गरेको हो ।

पहिलो वर्ष वडा–२ लुलाङ र वडा–६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । लुलाङमा आलु र मराङमा अलैंची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सुरु गरिएको राईले बताए ।

मराङको हाङबाङमा गठन भएको मालिका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैंचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैंचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैंचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो ।

यसैगरी, एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको २ लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपालि फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ ।