टेलिकममा प्रविधि विकास आवश्यक

राजधानी समाचारदाता/काठमाडौं ।

नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकमको व्यवस्थापन पक्ष प्रविधिको गुणस्तर विकास गर्न र कर्मचारीको दक्षता अभिवृद्धि गर्न तयार नभएको बताएको छ । टेलिकमको केन्द्रीय कार्यालयमा भएको साक्षात्कार  कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र दाहालले टेलिकमको व्यवस्थापकीय समूह कर्मचारीको वृत्ति विकास र प्रविधिको गुणस्तरीयताको विषयमा जिम्मेवार नदेखिएको बताए ।

‘प्रतिस्पर्धाको समयमा सरकारी स्वामित्वको टेलिकमलाई व्यवस्थापन पक्षले गुणस्तरहीन बनाएको छ । कर्मचारीको वृत्ति विकास गर्नतर्फ व्यवस्थापनको कुनै चासोसमेत छैन,’ अध्यक्ष दाहालले भने ।

उनले सञ्चालक समितिको लापर्बाहीका कारण सञ्चालनमा आएका टेलिकमका सेवा पनि प्रभावकारी हुन नसकेको आरोप लगाए । टेलिकमले सञ्चालन गरिरहेको मोबाइल सेवा, इन्टरनेट सेवालगायतमा चरम लापर्बाही देखिएको भन्दै उनले जनता गुणस्तरीय सेवा पाउनबाट समेत वञ्चित भइरहेको बताए ।

यसैगरी, कर्मचारीको सरुवा, तालिमलगायतमा समेत संस्थाको सुधारमा आवाज उठाउनेहरूलाई सरुवामा फरक फरक मापदण्ड बनाएर वञ्चित गरिएको उनले जानकारी दिए । यसैगरी, टेलिकमभित्र काम गर्ने कर्मचारीहरू न्यूनतम ज्यालाबाट समेत वञ्चित रहेको उनले बताए ।

युनियनले सोबारे  पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गर्दै आएको बताएको छ । युनियनले ११ देखि २५ असारसम्म संस्थाभित्रको बेथिति सुधारको माग गर्दै कार्यालय अगाडि केही समय धर्नासमेत दिएको थियो । उनीहरूले कर्मचारी र संस्थाको सुधारमा व्यवस्थापन पक्षले ध्यान नदिए देशभरका टेलिकमका कार्यालयमा आन्दोलनका कार्यक्रम पु¥याइने जनाएका छन् ।