कालोबजारी रोक्न बजार अनुगमन तीव्र

सुदीप अधिकारी/बर्दिया ।

कालोबजारी रोक्न बजार अनुगमन तीव्र पारिएको छ । बजार अनुगमनलाई तीव्र पारेसँगै एक साताअघि सुनमा मिसावट गरी कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परेका थिए ।

पेट्रोलियम पदार्थमा कालोबजारी गरेको पाइएपछि खैरापुरस्थित एक पेट्राल पम्पलाई प्रशासनले सिल गरेको छ । जिल्लाको भुरिगाउँ, बासगढी, ताराताललगायतका बजारमा अनुगमनका क्रममा किरान पसलमा म्याद गुज्रेका अखाद्य वस्तु फेला परेपछि ती वस्तु प्रशासनले नष्ट गरेको छ ।

बजारमा कालोबजारी मौलाउँदै गएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको हो । बजारमा नुनदेखि सुनसम्म कालोबजारी भइरहेको प्रशासनको ठहर छ । कालोबजारीलाई नियन्त्रण गर्न अनुगमन टोली निकै सक्रिय भएर लागेको प्रशासनले जनाएको छ  ।

यही सातादेखि पुनः बजार अनुगमन सुरु भएको छ । भुरिगाउँ बजारमा जिल्ला प्रशासन र नापतौल कार्यालयको टोलीले संयुत्त रूपमा बजार अनुगमन सुरु गरेको छ । अनुगमन टोलीले भुरिगाउँ बजारमा रहेका दुईवटा पेट्रोल पम्प अनुगमन गरेको छ । ती दुवै पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको परिमाण जाँच गर्दा परिमाण ठीक रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

अनुगमन टोलीले भुरिगाउँ बजारमा मनकामना ग्याँस, राप्ती ग्याँस र रेडिएन्ट ग्याँस सिलेन्डरको तौल जाँच गरेको थियो । यसैगरी, टोलीले विभिन्न हार्डवेयर पसलमा नापतौलका लागि प्रयोग हुने मेसिन जाँच गरेको छ ।

जाँचका क्रममा केही पसलमा नापतौल कार्यालयमा दर्ता तथा नवीकरण नभएको पाइएकाले त्यस्ता मेसिनलाई तीन दिनभित्र दर्ता तथा नवीकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । बजार अनुगमन टोलीले निमार्णका लागि प्रयोग हुने विभिन्न उद्योगका सिमेन्टको तौल जाँच गरेको छ ।

अनुगमन टोलीले एक साताअघि गुलरिया, बासगढी र राजापुरका सुन पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा संकलन गरिएको सुन गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा सुनमा आठ प्रतिशतसम्म अन्य धातु मिसावट गरेर बिक्री गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएपछि आम उपभोक्ता खुसी भएका छन् । महिनामा कम्तीमा दुईपटक बजार अनुगमन भए कालोबजारी नियन्त्रण हुन सक्ने उपभोक्ताहरु बताउँछन् । अनुगमन कार्यलाई निरन्तरता दिइनुपर्ने उपभोक्ताको माग छ । ‘वर्षमा एक दुईपटक मात्र देखावटी जस्तो बजार अनुगमन गरेर मात्र हुँदैन । यसलाई प्रभावकारी बनाउन बजार अनुगमन निरन्तर हुनुपर्छ । उपभोक्ता पनि सजग हुनुपर्छ,’ भुरिगाउँका उपभोक्ता पुष्कर लामिछानेले भने । बजारमा सामग्रीको कृत्रिम अभाव गर्ने, मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गरी उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने स्थानीय उपभोक्ता प्रदीप भण्डारी बताउँछन् ।

कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनले भने, ‘कालोबजारी रोक्न प्रशासनसँगै आमउपभोक्ता पनि सजग र सचेत हुनुपर्छ । अनि मात्र उपभोक्ता ठगी गर्नेहरु निरुत्साहित हुनेछन् ।’ कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।