घर भाडासँगै घरजग्गाको मूल्य बढ्यो

ईश्वर तामाङ/उदयपुर।

घर भाडासँगै घरजग्गाको मूल्य बढेको छ । स्थानीय तहको केन्द्रमा रहेका घरमा स्थानीय तहका कर्मचारीको चाप बढेसँगै घर भाडा बढ्न थालेको हो ।

नयाँ संरचनापछि उदयपुरको बेलाका नगरपालिका, चौदण्डी नगरपालिका, सुनकोसी, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाको केन्द्रमा घर भाडा बढेको हो । ‘गाउँपालिकाको केन्द्र भएपछि नयाँनयाँ व्यापारीहरू समेत आउन थालेका छन,’ उदयपुरगढी गापाको केन्द्र उदयपुरगढीका स्थानीय पुष्कर भण्डारीले भने, ‘उदयपुरको पुरानो सदरमुकाम भएर पनि शून्य हुने उदयपुरगढीमा व्यापारी र कर्मचारीको चाप बढ्दै गएकाले घर भाडासमेत बढेको छ ।

गाउँपालिकाको केन्द्र हुनुअघि गाविस सचिव र शिक्षक मात्र आउने उदयपुरगढीमा अहिले कर्मचारी, व्यापारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिसमेत पुग्न थालेपछि घर भाडा बढेको हो । ‘पहिला मासिक चार सयदेखि ६ सयमा पाइने कोठा अहिले दोब्बर भएको छ,’ उदयपुरगढीकै पञ्चावती सामुदायिक होमस्टेकी अध्यक्ष इन्द्रकुमारी राई भन्छिन्, ‘अहिले नयाँ नयाँ व्यापारीसमेत आउनाले त्यसको दोब्बर भएको हो । सबै कुरा पहिलाको भन्दा दोब्बरले वृद्धि हुँदै गएको उदयपुरगढी गापा–१ का वडा सचिव खिलराज कार्कीले बताए ।

‘प्रहरी चौकीलगायतका धेरै कार्यालय स्थापना गर्नु पर्नेछ,’ सुनकोसी गाउँपालिका अध्यक्ष मेजरकुमार राईले भने, ‘सुनकोसी गापाको केन्द्र बाराहामा अहिले स्वास्थ्य चौकी र गाविसको सानो कार्यालयको एउटा भवन मात्र छ । अन्य कार्यालय खोल्नसमेत भाडामा लिनुपर्ने हुन्छ ।’ अध्यक्षका राईका अनुसार गापा केन्द्रहरूमा सरकारी कार्यालय र कर्मचारीको चाप बढेकाले स्वाभाविक रूपमा स्थानीयले घर भाडा बढाउने गरेका छन् । ‘पहिला पहिला भाडासमेत लाग्दैनथ्यो,’ राईले भने, ‘अहिले के बढ्यो भन्नु, मासिक १ हजारदेखि २ हजारसम्म घर नै दिन्थ्यो तर घर नै पाइँदैन र समस्या छ ।’

उदयपुरको दुर्गम क्षेत्रमा पर्ने सुनकोसी गापामा पनि आर्थिक सामाजिक र राजनीतिक मुहार बदलिएको महसुस सर्वसाधारणको छ । ‘यस सुनकोसी गापाको केन्द्र बाराहामा पहिला कोही पनि घर, तथा कोठा बहालमा माग्न आएको थाहा थिएन,’ सुनकोसी गापा–१ का वडा अध्यक्ष भीम किरातीले भने, ‘पुनर्संरचना पछिको चुनावपछि नयाँ व्यापारी र कर्मचारीको चाप बढ्दै गएको छ ।’  उनका अनुसार कर्मचारीको चाप बढ्दै गएपछि स्थानीयले घर  बहालमा लगाउने तरिकाले निर्माण गर्न थालेका छन् ।

सानासाना घर  पनि अहिले मासिक १ हजारदेखि १ हजार ५ सयसम्ममा भाडामा लाग्ने गरेको स्थानीय बताउँछन् ।  यसैगरी, नयाँ नगरपालिका बनेको बेलका नगरपालिकाको केन्द्र रामपुर बजारमा व्यापारीका लागि घर पाउनै मुस्किल हुने गरेको छ । ‘अहिले गापा र नपाका केन्द्रमा गएर केही नयाँ व्यापार व्यवसाय गर्न खोज्यो घर नै पाउन मुस्किल छ,’ बेलका नगरपालिकाको रामपुर बजारमा मिठाइ पसल गर्ने राम मण्डलले भने, ‘केही सहजता सम्झेर रामपुर बजार आएको अहिले घरनै महँगो हुँदै गएको छ ।’ अहिले ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा रहेका केन्द्रमा सहर बजारका जस्ता व्यावसायिक घर नभए पनि घर भाडा बढ्न थालेको छ ।