एफएम रेडियोसँग रोयल्टीमा सहमति

राजधानी समाचारदाता/काठमाडौं

एफएम रेडियोहरूले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत रोयल्टी दिने सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत रोयल्टी संकलन समाज, संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालबीच रोयल्टी सम्बन्धनमा सहमति भएको हो ।

सहमतिपत्रमा उल्लेख भएअनुसार एक वाटदेखि सय वाटसम्मका रेडियोले वार्षिक २ हजार ५ सय, १०१ वाटदेखि ५ सय वाटसम्मका रेडियोले वार्षिक ४ हजार ५ सय, ५०१ वाटदेखि हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार र १ हजार १ वाटभन्दा माथिका रेडियो एफएमहरूले वार्षिक १२ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने हुन्छ ।

रेडियो प्रसारकसम्बन्धी दुवै छाता संस्थाले आर्थिक वर्ष २०७४÷७५ को गीत तथा संगीतको रोयल्टी आउँदो पुस मसान्तभित्र बुझाउनुपर्ने सहमति भएको छ । प्रतिलिपि अधिकारसम्बन्धी जनचेतनामूलक सामग्रीलाई आपसी समझदारीमा प्रसारण गर्ने व्यवस्था मिलाइएकोे छ ।

प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार सिर्जना प्रयोग गरेबापत स्रष्टालाई प्रदान गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले मन्त्रालयलाई निर्देशन दिएकाले यस सम्बन्धमा मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको थियो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्रष्टालाई रोयल्टी दिने अभियान रेडियोबाट सुरु गरिने तथा टेलिभिजन, सार्वजनिक यातायातलगायत सबै सार्वजनिक स्थलमा लागू गर्दै जानेमा जोड दिए ।

सिर्जनाले मनोरञ्जन लिनेदिने तर स्रष्टा भोकै बस्ने अवस्था अन्त्य हुनुपर्छ, गीत संगीतलाई मानिसले जीवनको अभिन्न अंग बनाएका छन्, दुःख र सुख दुवै अवस्थामा यसको प्रयोग हुन्छ, तनाव शान्त गर्ने अस्त्रका रूपमा पनि गीत संगीतको प्रयोग हुने गरेको उनले बताए । गीतसंगीत क्षेत्रलाई उद्योगका रूपमा विकास गरिने उनले बताए ।