चाणक्य बन्दै अजय देवगन

मुम्बई/एजेन्सी– बलिउडमा ऐतिहासिक, पौराणिक, साहसिक पात्रको जीवनीमा चलचित्र बनाउनेक्रम बढेको छ । यसैक्रममा बलिउड अभिनेता अजय देवगन यतिबेला चाणक्य बन्ने तयारीमा छन् ।

यो चलचित्रको तयारी तीव्र रूपमा चलिरहेको अभिनेता एवं निर्माता अजयले बताएका छन् । उनले टवीट् गर्दै आफू चाणक्यका रूपमा अब दर्शकमाझ आउने खुलासा गरेका छन् ।

भारतका सबैभन्दा ठूला चिन्तक चाणक्यको भूमिका निर्वाह गर्न आफू निकै उत्साहित भएको उनले ट्वीटरमा उल्लेख गरेका छन् । यो चलचित्रलाई निरज पाण्डेले निर्देशन गर्दै छन् ।

भारतको ठूलो कम्पनी मानिएको रिलायन्स इन्टरट्रेनमेन्टले यो चलचित्र निर्माण गर्दै छ । यो चलचित्रको तयारी लामो समयदेखि भइरहेको यसका निर्देशक पाण्डेले बताएका छन् । चाणक्य कुनै पात्र नभएर चिन्तक चाणक्यकै जीवनीमा यो चलचित्र केन्द्रित रहने पनि यी निर्देशकले खुलासा गरेका छन् । यो चलचित्र बलिउडको ठूलो बजेटको चलचित्र हुने पनि उनको भनाइ छ ।