‘मेरो पहिलो प्रेम’मा सलोन र करिश्माको प्रेम

राजधानी समाचारदाता/काठमाडौं।

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । वास्तविक जीवनमा प्रेम सम्बन्धमा रहेका यी जोडी एउटा गीतमा पनि यस्तै प्रेमी प्रेमिकाका रूपमा देखिएका छन् ।

प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’को गीत मेरो पहिलो प्रेम…मा यी जोडीको आत्मीय प्रेमभाव देख्न पाइन्छ । यो गीतको भिडियो बुधबार भिडियो सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।

आफूहरू प्रेम सम्बन्धमा रहेकाले पनि यो गीतमा सशक्त प्रेम देखाउन सजिलो भएको यी दुई कलाकारको भनाइ छ । २९ असारबाट प्रदर्शनीमा आउने बाबु कान्छालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

यो गीतमा सुशील पंगेनीको शब्द, कमल खत्री र सुधा रत्नको स्वर रहेको छ । जसमा टंक बुढाथोकीले संगीत दिएका छन् । यो गीतको भिडियोको रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । लमजुङको घलेगाउँमा छायांकन गरिएको गीतमा हिमालको रमणीय दृश्य समावेश छन् ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै चर्चा पाएका सलोन बस्नेत बाबु कान्छामा मुख्य भूमिकामा छन् । आफूले यो चलचित्रमा निकै मेहनत गरेको र आफ्ना लागि यो सिनेमा अग्निपरीक्षा भएको पनि सलोनको भनाइ छ ।

सलोनसँगै यो चलचित्रमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय छ । यस चलचित्रबाट अश्लीन ज्ञवाली र ज्योत्सना महर्जन नवअभिनेत्रीका रूपमा प्रस्तुत हुँदै छन् ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी यसमा छ । जसमा अस्ट महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकी र ओम सुनारको संगीत छ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेका बाबु कान्छामा सन्तोषराज भण्डारी र सुरज घिमिरे सहनिर्माता छन् ।