सन्ध्याका कलामा पञ्चतŒव

डब्बु क्षत्री/काठमाडौं

ग्यालरीको भित्तोमा अध्यात्मसम्बन्धी चित्र सजिएका छन् । पाश्र्व संगीतका रूपमा विभिन्न मन्त्र बजिरहेका छन् । त्यहाँ पुग्दा जो कोहीलाई पनि एकछिन आनन्दको महसुस हुन्छ ।

यो राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी ‘तमसोमा ज्योतिर्गमय’ कला प्रदर्शनीको दृश्य हो । त्यहाँ कलाकार सान्ध्या रेग्मीको एकल चित्रकला यतिबेला प्रदर्शन भइरहेको छ ।

अध्यात्मका चित्र सिर्जना गर्न रुचाउने सन्ध्याको यो नवौं एकल प्रदर्शनी हो । पाँच वर्षअघि उनले शान्ति र अध्यात्मलाई लक्षित गरेर ‘बुद्धका अनुहारहरू’ शीर्षकमा एकल कला प्रदर्शनी गरेकी थिइन् । सो प्रदर्शनीले निकै चर्चा पाएको थियो । यसपछि विदेशमा एकल कला प्रदर्शनी गरेकी सन्ध्याले यसपटक आर्ट काउन्सिलको ग्यालरीमा तमसोमा ज्योतिर्गमयलाई प्रस्तुत गरेकी छन् ।

प्रदर्शनीमा राखिएका चित्र सन्ध्याले पाँच वर्ष लगाएर तयार गरेकी हुन् । उनले यसपटक ‘अँध्यारोबाट उज्यालोतिर’ अर्थात् तमसोमा ज्योतिर्गमय, ‘असत्यबाट सत्यतिर’ अर्थात् असतोमा सत्गमय र ‘मृत्युबाट जीवनतिर’ अर्थात् मृत्युर्मा अमृतम् गमयलाई मुख्य अवधारणा बनाएर चित्रहरू तयार गरेकी हुन् । त्यहाँ राखिएका चित्र पनि मूलतः यी तीनवटै अवधारणामा रहेका छन् ।

त्यसैले, दर्शकले उनको एकल प्रदर्शनीमा राखिएका चित्रहरू यिनै विषयका वरवर रहेको देख्नेछन् । गायत्री मन्त्र, सूर्य मन्त्र, मृत्युञ्जय मन्त्रसहित विभिन्न मन्त्रलाई पनि उनले क्यानभासमा उतारेकी छन् । अदृश्य शक्ति मानिएका यस्ता मन्त्र र ओम ध्वनिले शान्ति दिने अवधारणा सनातन धर्मावलम्बीमा छ ।

यसरी चित्रमा अध्यात्मलाई दर्शाउनुको कारणबारे चित्रकार सन्ध्यले राजधानीसँग भनिन्, ‘हाम्रो पूर्वीय परिचय भनेकै यहाँको अध्यात्मवाद पनि हो, मूलतः मुलुकको दुई दशकयताको अवस्थालाई पनि प्रतीकका रूपमा मैले यस्ता चित्रहरू तयार गरेर प्रदर्शनीमा ल्याएकी हुँ ।’

आक्रोश तथा ऊर्जा मानिने रातो रङ, अध्यात्म मानिने पहेंलो रङ र विरोध मानिने कालो रङलाई उनले क्यानभासमा महŒव दिएकी छन् । यसो गर्नुको कारणबारे सान्ध्याले भनिन्, ‘मुलुकमा एक दशकसम्म माओवादी जनयुद्ध चल्यो र त्यसले एक प्रकारको विद्रोह ल्यायो, त्यो विद्रोह र विरोधपछि मुलुकमा गणतन्त्र स्थापना भएर फेरि मुलुक ऊर्जातिर, विकासतिर,शान्तितिर अघि बढेका कारण पनि मैले चित्रमा यी तीन रङलाई स्थानदिएकी हुँ ।’ प्रदर्शनीमा उनले ३३ वटा चित्र राखेकी छन् । सनातन धर्मअनुसार ३३ कोटी देवीदेवता रहेको मान्यतालाई आत्मसात गर्दै उनले त्यसैको प्रतीकका रूपमा ३३ वटा चित्र प्रदर्शनीमा ल्याएकी रहिछन् । मूलतः पञ्चतŒव जल, अग्नि, वायु, पृथ्वी र आकाशलाई केन्द्रविन्दु मानेर उनले आफ्ना चित्रमा पनि जल, अग्नि, वायु, पृथ्वी र आकाशलाई समेटेकी छन् ।

अध्यात्म चित्र तयार गर्नुअघि लामो समय अध्यात्ममा बसेर आफू कला सिर्जनामा उत्रिएको सन्ध्याको भनाइ छ । त्यसैले, उनी आफ्ना चित्रकलाई ‘स्प्रिचुअल पेन्टिङ’ भन्छिन् । सोही कारण यी

चित्रकलाको मूल्य पनि उनले सोही अनुसार राखेकी छन् । चित्रको मूल्य २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म उनले राखेकी छन् । ३३ वटा चित्रमध्य यो प्रदर्शनीमा दुईवटा बिक्री भइसकेको र केही बिक्रीका लागि बुक भएको पनि सन्ध्याले जानकारी गराइन् । त्यहाँको उनको कला प्रदर्शनी ३१ असारसम्म रहनेछ ।