खुला शौच गर्न पाउनुपर्ने भन्दै प्रहरीसँग झडप

राजधानी संवाददाता/झापा।

झापा कचनकवल गाउँपालिका–५ डागावारी पुगेको प्रहरी टोलीलाई मंगलबार बिहानै स्थानीय गाउँलेले घेरा हाले र नियन्त्रणमा लिएका चार जनालाई प्रहरीको फन्दाबाट उम्काउने प्रयास गरे । प्रहरी नियन्त्रणमा रहेका दुई महिला र दुई पुरुषलाई छुटाउन प्रहरी र स्थानीयबीच घम्साघम्सी मात्र भएन हात हालाहाल नै भयो ।

प्रहरी नायब निरीक्षक उदयशमशेर राणासहित स्थानीय प्रतिनिधिसँग स्थानीयबीच झडपसम्म हुने कारण थियो खुला शौच गरेर फर्किंदै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिनु ।  स्थानीय जनप्रतिनिधि र सहजकर्ता र प्रहरीले समेत पटकपटक खुला शौच नगर्न आग्रह गर्दासमेत नमानेपछि ५ बजे बिहानै पुगेको संयुक्त टोलीले चार जनालाई नियन्त्रणमा लिएको थियो । तर, नजिकैको खोला किनारमा खुला शौच गरेर फकिएका उनीहरू बाक्लो गाउँनजिकै प्रकाउ परेका थिए । पक्राउलगत्तै स्थानीय बीचमा हल्ला मच्चिएपछि गाउँलेहरूले प्रहरीविरुद्ध खुला रूपमा शौच गर्न पाउनुपर्ने भन्दै प्रहरीविरुद्ध जाइलागेको सई राणाले बताए ।

महिला प्रहरी जवान मनिसा चौधरीलाई हातपात गर्न कोशिस गरेपछि प्रहरीले खुला शौच गर्न पाउनुपर्ने भन्दै नेतृत्व गर्ने स्थानीय ५६ वर्षका तफेजुड्ग मियाँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मंगलबार बेलुकीसम्म प्रहरी स्थानीयबीच प्रक्राउ परेको र फरार रहेकाहरूको विषयमा के गर्ने भन्ने छलफल चलिरहेको थियो ।  हाल यस गाउँमा ८७ परिवार रहेका छन् जसमध्ये ३६ मात्र परिवारमा शौचालय निर्माण भएको छ ।

स्थानीय डागावारीका बासिन्दाका अनुसार सरकारले जबर्जस्ती शौचालयमा शौच गर्न भनेको तर ताजपुरिया मुसलमानलगायत अन्यले आफ्नो परम्परा र धर्मले ससुरा बुहारीले एउटै शौचालय प्रयोग गर्न नहुने भएकाले खुला शौच गर्न वाध्य भएको बताएका छन् । धेरैले शौचालय निर्माण गर्न नमानेको र निर्माण गरेकाहरूले पनि बानी नपरेकाका कारण शौचालय प्रयोग नगरेको वडा अध्यक्ष महेशलाल गणेश बताउँछन् । तर, सोही गाउँपालिकाको उपाध्यक्ष निमसरी राजवंशी सबै बहाना मात्र भएको बताउँछिन् ।

कचनकवल गाउँपालिकामा ९ हजार ३५ परिवार छन् जसमध्ये ६ हजार ५ सय परिवारमा शौचालय थिएन तर अहिले करिब ४ सय परिवारमा मात्र शौचालय निर्माण गर्न बाँकी भए पनि खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सबैभन्दा ठुलो चुनौती भएको गाउँपालिका अध्यक्ष अन्जर आलम बताउँछन् ।