बेनी–जोमसोम सडक अवरुद्ध

बेनी म्याग्दी/रासस– अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गत राति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक निर्माणधीन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।