मंगलबारदेखिको निरन्तर वर्षाको कारण, नौ गाड गाउँपालिका बाढी पहिरोको चपेटामा,बाढीले पुल बगाएपछि परीक्षा स्थगित

नरेन्द्र कार्की/दार्चुला।

दार्चुला जिल्लाको नौ गाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । मंगलबारदेखिको निरन्तर वर्षाको कारण नौ गाड खोलामा बाढी आएपछि गाउँपालिका  सदरमुकामसहित नौ गाड गाउँपालिकाको ठूलो भूगोल बाढीको चपेटामा परेको हो ।

नौ गाड खोलाको बाढीले गाउँपालिकाको धुलिगडा खार खडक खण्डका साथै विभिन्न भेग जोड्ने ठाउँ बाटोघाटो अवरुद्ध भएका छन् । होपरि गाडका मनवीर ठगुन्नाको एक पसल आधा बगाएको छ । स्थानीयका आधा दर्जन घरमा क्षति पु¥याउनुका साथै होपरी  गाड बस्तीका सयांै घर पसल बाढी पहिरोको उच्च जोखिममा रहेको स्थानीय प्रेमसिंह ठगुन्नाले बताए ।

भौतिक क्षति भए पनि मानवीय क्षति नभएको र बाढी पहिरो प्रभावितलाई सुरक्षित स्थानतर्फ ब्यबस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिए ।

नौ गाड गाउँपालिका वडा नम्बर ४ कपडेका लालमनि ठगुन्नाका दुईवटा घरमा पहिरोले क्षति पु¥याएको छ । नौ गाड गाउँपालिका वडा नम्बर १ मा खडकसिंह ठगुन्नाको घर पहिरोले पुरिदा पशुचौपाया, अन्नबाली, अन्य सम्पत्ति पहिरोले पुरिएको स्थानीय आनसिंह बडालले बताए ।

यस्तै, नौ गाड गाउँपालिका वडा नम्बर १ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति भएको छ । गरिबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेपछि उक्त बस्तीमा क्षति पुगेको अध्यक्ष धामीले बताए

विभिन्न खोलामा लगाइएका पुलसमेत बाढीले बगाएको छ । गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरू पनि बगाउँदा स्थानीयवासी र विद्यार्थीहरूको आवतजावतसमेत बन्द भएको छ ।

यसैगरी, वर्षाले निर्माण गरिएका माछा पोखरी बगाएको छ । थुप्रै किसानहरूको खेत जमिन बगाएर बाढी घरनजिक पुग्दा बाढीको त्रास फैलिएको छ । यसअघि २०७० साल र विभिन्न समयमा आएको बाढीका कारणसमेत नौ गाडमा ठूलो क्षति भएको थियो । नौ गाड खोलामा पक्की तटबन्ध लगाउन स्थानीयले पटकपटक माग गरे पनि अहिलेसम्म तटबन्ध निर्माण नभएको भन्दै स्थानीय निराश छन् ।

बाढी प्रभावित स्थानीयले तटबन्ध निमार्णका लागि गाउँपालिका, प्रदेश सभा सदस्यलगायत सरोकारवालासँग पटकपटक माग गरे पनि अहिलेसम्म तटबन्ध नहुँदा बर्सेनि क्षति बेहोर्नुपरेको स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

दुईवटा आरसीसी पुल बगाएपछि वारपार गर्नै समस्या भएको छ । धुलीगडादेखि खारसम्म सडक अवरुद्ध भएको छ । आवतजावत पूर्ण रूपमा ठप्प छ । नदी किनारका दर्जनौं पानी घट्ट बगाएको  छ ।

बाढीपहिरोले के कति क्षति भयो भन्ने यकिन भएको छैन । बिहानैदेखि स्थानीय र प्रहरीले तथ्यांक संकलनको कार्यमा जुटेको अध्यक्ष धामीले बताए । फोनसमेत प्रभावकारी नहुँदा तथ्यांक संकलनमा समस्या भएको छ । २०७० सालको बाढीपछि थोरै माथि उठेको गाउँपालिकाको विकास पुन १० वर्षपछि धकिलिएको छ, अध्यक्ष धामीले भने । गाउँपालिकालाई देथला धुलीगडा खार खलंगा सडकमा जोडिएर स्थानीयलाई राहत भएको थियो तर अवस्था फेरि पछि धकेलियो ।

यसैगरी अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मा बाढीको कारण चौकी बगर बस्ती जोखिममा परेको छ । गत वर्ष पनि पहिरोका कारण क्षति भएको क्षेत्रमा यसपटक पनि जोखिम बढेको हो । चौकी  गाड खोलामा आएको बाढीले पूरै वस्ती जोखिममा रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । यस्तै, सोही क्षेत्रमा रहेको छिपुलकेदार मावि धङकङ विद्यालयसमेत जोखिममा रहेको छ ।

यसैबीच गएराति भारी वर्षा हुँदा दार्चुला जिल्लाका विभिन्न ठूला नदीमा पानीको बहाव बढेको थियो । दार्चुलाका मुख्य नदी महाकाली नदी र चमेलिया नदीमा पानीको बहाव बढेको भए पनि बुधबार दिनभरि घाम लागेपछि नदिको सतह विस्तारै घट्दै गएको छ । दार्चुलाको दोस्रो ठूलो नदी चमेलियमा पानीको सतह खतराको लेबलमा पुगेको थियो । नदी मापन केन्द्र गोकुलेश्वरका अनुसार चमेलिया नदीमा ५ दशमलव ५० सेन्टिमिटर पानी मापन गरिएको छ । मापन केन्द्रका अनुसार चमेलिया नदीमा ५ दशमलव ६० लाई खतरा लेबल मानिन्छ । यस्तै, महाकाली नदीमा पनि पानीको बहाव ५ दशमलव ६० सेन्टिमिटर मापन गरिएको नदी मापन केन्द्र दत्तुका कृष्ण नगारीले बताएका छन् । अहिले नदीको सतह घटेर खतरामुक्त रहेको नगारीले जानकारी दिए । मनसुन सक्रिय रहेको कारण आज रातिसमेत वर्षा हुनसक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

गएरातिको अविरल वर्षाका कारण नौ गाड खोलामा आएको बाढीले काठेपुल र आरसीसी पुल बगाएपछि परिक्षा स्थगित भएको छ । नौ गाड गाउँपालिकास्थित नौ गाड खोलामा आएको बाढीले विद्यालय जान खोलामा लगाएको पुल बगाएपछि जनहित मावि धुली गाडमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिंह ठगुन्नाले जानकारी दिए ।

बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको उनले बताए । पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा र २ सय विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ । यस्तै सोही क्षेत्रका दुईवटा विद्यालय बाढीको जोखिममा परेका छन् । नौगेडेश्वरी प्रावि होपरी  गाड र समैजी निमावि सौकेबगरको विदालय जोखिममा परेको होपरी गाडका प्रधानाध्यापक फागुनसिह ठगुन्नाले बताए ।

विद्यालयको फिल्ड बाढीले कटान गरेको छ । विद्यार्थी आउन नसक्ने भएपछि दुवै विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको खबर पठाइएको छ । यस्तै, प्रावि लक्सेरीको भवन माथिबाट पहिरो आएपछि विद्यालय पहिरोको जोखिममा परेको छ ।

नौ गाड क्षेत्रमा सञ्चार समस्या

नौ गाड गाउँपालिकाको अधिकांश भेगमा सञ्चार बन्द हँुदा समस्या भएको छ । बाढी तथा पहिरोले क्षति पु¥याएका विभिन्न बस्तीमा सञ्चार सेवा अवरुद्ध भएको छ । घाम लागेका बेला मात्रै टेलिफोन सेवा उपलब्ध हुने उक्त बस्तीहरूमा बिहानीको समयमा टेलिफोन सम्पर्क नहुँदा विपद पूर्वतयारी गर्नसमेत समस्या भएको प्रहरीले जनाएको छ । अहिले घाम अस्ताएपछि टेलिफोनले काम नगर्ने भएपछि राति बाढी पहिरो आए सम्पर्क गर्नसमेत विकल्प केही नहुँदा समस्या भएको बाढी प्रभावित क्षेत्रका स्थानीय प्रेमसिंह ठगुन्ना बताउँछन् ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि बुधबार बिहान ती बस्तीमा परिचालन गरिएको थियो । तर उद्धारका लागि खटिएको प्रहरी टोलीसँग समेत सम्पर्क हुन नसकेपछि समस्या भएको छ । सोलारको भरमा सञ्चालित टावरमा बर्खाको समयमा अधिकांश समय पावर नपुगेर सञ्चारविहीन हुनुपर्ने मार्मा, नौ गाडवासीको बाध्यता छ । घाम नलागेर टेलिफोनले काम नगर्दा आपतकालीन समयमा विभिन्न समस्याको सामना गर्नुपरेको स्थानीयले बताएका छन् ।