कुनाललाई पुरस्कार

ललितपुर/रास– कुपण्डोलस्थित प्रगति शिक्षा सदनले एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये सर्वोत्कृष्ट नतिजा (जीडीपी ३.९०) हासिल गर्ने कुनाल तामाङलाई अच्यूतमणि आचार्य शिक्षा पुरस्कार प्रदान गरेको छ । कुपण्डोलस्थित प्रगति शिक्षा सदनबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । २०७४ सालको एसईई परीक्षामा सफलता हासिल गर्ने आफ्ना ३४ विद्यार्थीको सम्मानमा बुधबार विद्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनलाई ८ हजार रुपैयाँ राशिको उक्त पुरकार प्रदान गरिएको प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विद्यालय र पूर्वविद्यार्थी संघका तर्फबाट सबै विद्यार्थीलाई मायाको चिनो वितरण गरिएको थियो । सोही अवसरमा श्री शंकर नैना रिजाल मेमोरियल ट्रस्टबाट छात्रवृत्ति प्राप्त गरी कक्षा १० को अध्ययन पूरा गर्ने तीन विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख गुणराज पोखरेल, पूर्वसचिव तथा भवन निर्माण समितिका अध्यक्ष दीपेन्द्रपुरुष ढकाल,  पूर्वसचिव एवं सल्लाहकार महाश्रम शर्मा, सल्लाहकार समिति अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रा. विनोद श्रीवास्तवले सम्मानित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । एसईई नतिजाअनुसार आफ्नो विद्यालयले सामुदायिक विद्यालयतर्फ दोस्रो स्थान हासिल गरेको प्रधानाध्यापक घिमिरेको दाबी छ ।