ने क पाले अनुमोदन गर्यो नियमावली

सुभाष साह/काठमडौं।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । पार्टी स्थायी कमिटीका सदस्यहरुले दिएको लिखित एवं मौखिक सुझावहरुलाई समेटेर तयार गरिएको नियमावली पारित भएसंगै पार्टीको कार्य, प्रदेश देखी तल्लो तह सम्मको कमिटी एवं भातृसंगठनको एकिकरण अब टुंगो लगाउँन सहज हुने नेताहरुले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको ने क पा सचिवालय बैठकले कार्यदलले नेताहरुको सुझावहरुलाई समेटदै तयार गरेको नियमावली अनुमोदन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘नियमावली टुंगो लाग्यो, अब अर्को बैठक बसेर त्यसको आधारमा पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया अगाडी बढाउन आवधिक योजनाको निर्णय गरिन्छ’ पार्टी प्रवक्ता श्रेष्ठले भने, ‘अर्को सचिवालय बैठकले बनाउँने आवधिक योजना अनुसार अब दिन तोकेर प्रदेश कमिटी, जिल्ला कमिटी सहित जनबर्गिय संगठनहरुको एकिकरण गरिन्छ ।’

पार्टीको अन्तरिम बिधान बमोजिम सो नियमावली तयार गरी नेताहरुको सुझावलाई समेटेर अनुमोदन गरिएको हो । नियमावलीको अभावमा पार्टीको प्रदेश, जिल्ला कमिटीका साथै जनबर्गिय संगठनहरुको एकता प्रक्रिया टुंगो लगाउँन कार्यदललाई समस्या भएको थियो ।

ने क पा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीले नियमावली पारित गरेसंगै एकिकरण अभियान तिब्र गतिमा अगाडी बढने बताए । नियमावलीको अभावमा एकता प्रक्रियालाई टुंगो लगाउँन समस्या भएको बताउँदै उनले सबै कमिटीहरुको एकता अब छिटै टुंगो लाग्ने बताए ।

नियमावली पारित भएसँगै प्रदेश, जिल्ला, भातृसंगठन लगायतका कमिटीहरुको एकता प्रक्रिया अघि बढाउन अर्को सचिवालय बैठकले आवधिक कार्ययोजना बनाएर अगाडी बढने निर्णय समेत बैठकले गरेको छ ।

यस अघि बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले लिखित एवं मौखिक सुझावहरु दिदै अनुमोदन एवं प्रकाशनको जिम्मेवारी सचिवालयलाई दिएको थियो । सोही सुझावहरुलाई समेटेर सचिवालयमा परिमार्जन सहित पेश गरिएको थियो । सचिवालय बैठकले नेता बामदेव गौतम, रामबहादुर थापा र बिष्णु पौडेल रहने गरी तीन सदसीय कार्यदल गठन गरेको थियो ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा ३ जेठमा पार्टी एकताको घोषणा भएको थियो । पार्टी एकताको घोषणा भएको तीन महिना भित्रमा प्रदेश, जिल्ला कमिटीका साथै भातृसंगठनहरुको एकता पनि टुंगो लगाउँने नेताहरुले घोषणा गरेका थिए ।

नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ । यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

पार्टी एवं भातृसंगठनहरुको एकिकरणका लागि छुटाछुटै कार्यदलहरु गठन भएको छ । दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रिय समिति बनाउने व्यवस्था गरिएको छ । जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।

बिभिन्न २२ भातृसंगठनका साथै पार्टी कमिटीहरुका लागि गठन भएको छुटाछुटै कार्यदल मध्ये केही बाहेक कसैको बैठक हुन सकेको छैन् । नियमावलीकै अभावमा अधिकांश कार्यदलले अहिले सम्म बैठक समेत गर्न नसकेका कारण एकता प्रक्रिया लम्बिएको हो ।

पार्टी बैठकहरुमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहालका साथै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतकाले प्रदेश, जिल्ला, भातृसंगठनको एकता प्रक्रिया बिधिवत रुपमा छिटै टुंगो लगाउँन निर्देशन दिदै आएको आएका थिए ।