फु खोलाले बगाउँदा दुई युवा बेपत्ता

जनक श्रेष्ठ/लमजुङ, २८ असार।

हिमालपारीको जिल्ला मनाङ स्थित नार्फाभूमि गाउँपालिका ४ फु गाउँदेखि क्याङतर्फ जार्दै गरेका दुई युवा फु खोलाले बगाउँदा बेपत्ता भएका छन् । रोल्पा जिल्ला स्थित थबाङ गाउँपालिका ३ का अन्दाजी १९ बर्षीय शीतल पुनमगर र २१ बर्षीय रशेम बुढामगर सो खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

मनाङमा काम गर्दै आएका उनीहरु फु गाउँमा फोनको टावर नटिप्ने भएकाले परिवारलाई फोन गर्ने भनेर क्याङमा जादै गर्दा बाटोमा चिप्लेर शीतल लड्न पुग्दा उनलाई बचाउँने क्रममा उनीसगैँ रहेका रशेमलाई समेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठले बताए । ६ महिना देखि नार्फाभूमि गाउँपालिका ४ को वडा कार्यालय भवन बनाउँदै आएका उनीहरुलाई मंगलबार खोलाले बगाएपनि बुधबार मात्रै प्रहरीलाई थापा भएको प्रहरीले जनाएको छ ।

बर्षायामको समयमा पानीको बहाव बढेको छ त्यही माथि पनि फु खोला ठाडो रहेकोले उनीहरुलाई पाउन मुश्किल परेको ईन्स्पेक्टर श्रेष्ठको भनाई छ । मैता प्रहरी चौकीका प्रहरीहरुले उनीहरुलाई खोजीगरीरहेको साथै सो ठाडो खोला फु मस्र्याङ्दी नदीमा मिसिने भएकाले मनाङको धारापानी, ताल मनाङ प्रहरीले खोजी गरिरहेको र लमजुङ, तनहुँको प्रहरीलाई समेत खोजी गरिदीनका लागि खोजपत्र पठाईएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । बुधबारबाट खोजी कार्य गरीरहेतापनि बिहिबारसम्म उनीहरुलाई फेला पार्न नसकेपछि उनीहरुलाई भेटिने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।