बारबर्दिया नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगर घोषित

सुदीप अधिकारी/बर्दिया, २८ असार।

जिल्लाको बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगर घोषणा गरिएको छ । नगर क्षेत्रमा विद्यालय उमेर ३ वर्षदेखि १६ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना भइसकेकाले उक्त नगरपालिकालाई बिहिबार संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोख्रेलले एक समारोह बिच अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगर घोषणा गर्ने यो नगरपालिका मुलुककै पहिलो नगरपालिका भएको छ । यस नगरपालिकामा विद्यालय उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् । घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बारबर्दिया नगरपालिकाले शिक्षा क्षेत्रमा अत्यन्तै महत्वपूर्ण र प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । मन्त्री पोखे्रलले भने, ‘ शिक्षा क्षेत्रको विकासका लागि यस नगरपालिकाले गरेको कार्य अत्यन्त प्रशंसनीय छ । अन्य स्थानिय तहले पनि यो कार्यको अनुकरण गरेर बालबालिकाको शिक्षा प्रतिको अधिकार सुनिश्चित गर्नु पर्छ । ’

हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने राष्टिय मूल नाराका साथ यो नगरपालिकाले विद्यार्थी अभियान सुरु गरेको थियो । भर्ना अभियानका क्रममा नगरपालिकाका सम्पूर्ण वडाहरुमा रहेका विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गर्न १६ हजार ८ सय ८० घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा विद्यालय उमेर समूह ( ३ देखि १६ वर्ष )समूहका २ सय ८७ बालबालिका विद्यालय बाहिर रहेको तथ्य फेला परेपछि विद्यालय तथा नगरपालिकाले संयुक्तरुपमा विभिन्न कार्यक्रम संचालन गरेर उनीहरुलाई विद्यालय भित्र ल्याउन सफल भएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।
विद्यालय बाहिर रहेका २ सय ८७ बालबालिका मध्ये ५ देखि १२ वर्ष उमेर समूहका ९८ जना बालबालिकालाई नगरपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा भर्ना गरिएको नगरप्रमुख थारुले बताए । यसैगरि १७ जना वहुअपाङ्गता र ९ जना अपाङ्गता भएका बालबालिकालाई आवश्यक्ताको लेखाजोखा गरि अपाङ्गतामैत्री विद्यालयहरुमा भर्नाका लागि सिफारिस गरएको र वाँकी ३ वर्षदेखि ५ वर्षका बालबालिकालाई बालशिक्षा कार्यक्रममा भर्ना गरिएको घोषणा कार्यक्रममा जानकारी गराइयो ।

५ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना भएको सुनिश्चित गर्न, बालबालिकालाई विद्यालय भर्ना गर्न गराउन सरोकारवाला सबैलाई नैतिक जिम्मेवारी बोध गराउन र भर्ना भएका सबै बालबालिकालाई विद्यालयमा टिकाइ राख्नका लागि सरोकारवाला सबैलाई अभिप्ररित गर्ने उदेश्यका साथ अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगर घोषणा गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशीधर घिमिरेले बताए ।
विद्यार्थी भर्ना अभियान सुरु भएदेखि नगर क्षेत्रमा बालबालिको तथ्याङ्ग संकलन, तथ्याङ्ग प्रवोधिकरण, बजेट विनियोजन, निशुल्क शिक्षाको व्यवस्था, भर्ना अभियानका बारेमा छलफल, नयाँ विद्यार्थीलाई स्वागत तथा हौसला प्रदान, गाउँबस्तीमा छलफल लगाएतका क्रियाकलाप संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

बारबर्दिया नगरपालिकामा १४ सामुदायिक र ३ संस्थागत गरि १७ वटा माध्यमिक विद्यालय, आधारभूत तर्फ १० सामुदायिक र ३ संस्थागत विद्यालय रहेका छन् । भने १९ सामुदायिक र १० संस्थागत गरि २९ वटा प्राथमिक विद्यालय रहेको छ । यस नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा १४ हजार ८ सय ५ र संस्थागत विद्यालयमा ३ हजार ८ सय ६४ बालबालिका अध्ययनरत् छन् ।