पूर्व फूटबल खेलाडी खाजा पसल खोलेर, जीवन चलाउँदै

सुजीतकुमार झा/जनकपुरधाम ।

सरकारी उदासिनताका कारण जनकपुर क्षेत्रका खेलाडीहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन । एकताका राष्ट्रिय स्तरमै नाम चलेका खेलाडीहरु अहिले खेल क्षेत्रबाट पलायन भएका छन । दर्जनौ खेलाडी वैदेशिक रोजगारीमा गएर घर परिवार चलाई रहेका छन भने कतिले पसल वा व्यापारिक प्रतिष्ठानमा मजदुरी गर्न बाध्य भएका छन ।

जनकपुर उपमहानगरपालिका ७ का दिनेश सिंह जनकपुर क्षेत्रमा फुटबलका चर्चित खेलाडी थिए । खेल प्रतिभाकै कारण दिनेशलाई जनकपुर चुरोट कारखानामा जागिर दिइएको थियो । तर दिनेश अहिले खाजा पसल खोलेर जीवन निर्वाह गरि रहेका छन । उनले भने जनकपुर चुरोट कारखानामा ११ वर्षजति काम गरेँ, कारखाना कमजोर बनेपछि हामीलाई हटाइयो । त्यसपछि जीवन जीउन गाह्रो भएको छ ।

६० वर्षिय दिनेशले युवाहरुलाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी बनाउने धोको रहेको छ । तर पेटले खाजा पसलभन्दा बाहिर जान दिई रहेको छैन । एक समयमा जनकपुर चुरोट कारखानाको फूटबल टिम थियो त्यो टिममा दिनेशका अतिरिक्त अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साह लगायतका खेलाडीहरु थिए । जनकपुर चुरोट कारखानाको टिमसंग नेपालका कुनै पनि फूटबल टिम भिड्नबाट डराउँथे । त्यसटिमलाई राष्ट्रिय टिमसम्म भन्ने गरिन्थ्यो । विदेश जाँदा पनि यही टिमका कैंयो खेलाडीहरु खेल्न जान्थे । आफू विदेश जान नसकेपनि नेपालका अधिकांश ठाउँमा हुने प्रतियोगिताहरुमा सहभागी हुने गरेको दिनेशले बताए ।

राम युवा कमिटीका उपाध्यक्ष एवं खेलप्रेमी परमेश्वर साहले आफू बाल्यकालमै दिनेशको खेल हेरेको थिए सेन्टरमा दिनेशको जोडी कोही थिएन उनले सुनाए । खेलप्रेमी सोहन ठाकुरले राज्यले यस्ता खेलाडीलाई तिरस्कार गर्नु दुर्भाग्य रहेको बताउनु भयो ।

कांग्रेस नेता रामएकवाल साहले युवाहरुलाई खेल तर्फ आकर्षित नगराएकै कारण युवाहरु लागु औषध सेवन तर्फ आकर्षित भई रहेका बताए । उनले युवाहरुलाई प्रशिक्षण दिई राम्रो खेलाडी बनाउने दर्जनौँ प्रशिक्षकहरु त्यतीकै घुमिरहेका छन । तर त्यसको हामी सदुपयोग गर्न सकि रहेका छैनौँे ।
वेट लिफ्टिंगका पूर्व राष्ट्रिय खेलाडी अमरचन्द्र अनिलले प्रदेश सरकार बन्दा पनि खेल विकासको लागि खासै योजना नल्याउनु प्रदेशको अदुरदर्शी नीति रहेको बताए । राम्रा खेलाडीहरु समाप्त भई सके नयाँ पिँढीका लागि कुनै अवसर छैन उनको गुनासो रहेकोछ ।