भानु जयन्तीमा मुख्य आकर्षण हिमवत् सम्मिलन

काठमाडौँ, २८ असार (रासस)।  विगतमा परम्परागत रुपमा मनाइए पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीको अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ ।

भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने त्रिदिवसीय सो साहित्य सम्मिलनका लागि हिमाली सभ्यता र संस्कृति भएका विश्वका करीब एक दर्जन मुलुकका ५० जना साहित्य र कलापारखी नेपाल आउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुहुने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने विभिन्न मुलुकका साहित्यकारको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

भौगोलिक र सांस्कृतिक विविधतायुक्त नेपालको भाषिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिनुहुने आदिकवि आचार्यको २०५औँ जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना गर्न लागेको हो ।

नेपालको कला, साहित्य संस्कृतिलाई हिमवत्खण्डमा पुनः जागृत गर्नका लागि सम्मिलन आयोजना गरिएको हिमवत्खण्ड कला साहित्य सम्मिलन मूल समारोह समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले बताउनुभयो ।

सम्मिलनमा नेपाल, भारत, बर्मा, श्रीलंका, पाकिस्तान, बेलायतलगायत मुलुकका ६० भन्दा बढी स्रष्टाले भाग लिने आयोजक समितिका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो ।