अबिरलले वर्षाले भक्तपुर डुबानमा तीनको मृत्यु, अर्बाैंको नोक्सानी


सञ्जीव दुलाल/भक्तपुर।

अबिरल वर्षाका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । करिब १८ घण्टाको लगातार वर्षाका कारण भक्तपुरका चारवटा नगरपालिकाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अबिरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले कतिपय बस्ती डुबानमा परेका छन् । अरनिको राजमार्ग र भित्री सडक पनि वर्षाको चपेटामा परेका छन् ।
प्रहरीका अनुसार अबिरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भक्तपुर प्रहरी परिसरका नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, उनकी पत्नी ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको छ । उनीहरूको राति नै मृत्यु भए पनि बिहानपख मात्रै छोराबुहारी र आफन्तले त्यसबारे थाहा पाएका थिए । प्रहरीले बिहान मात्र उनीहरूको शव निकालेको थियो ।

प्रहरीका अनुसार, हीराका छोराबुहारी भने सकुशल छन् । उनीहरू पक्की घरमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।
महानगगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसपी पोखरेलका अनुसार, पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङमा दुई गरी १५ वटा घर भत्किएको छ । वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा एक घर भत्किएको छ । बाढीले भत्काएका टहरा र माटोको घरको लागत संकलन भइरहेको छ । यसैगरी, बाढीपहिरो र डुबानमा परेका एक सयभन्दा बढीको उद्धार गरिएको छ ।
वर्षापछि हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीका कारण चाँगुनारायण नगरपालिका–५, ६, ७, ८ र ९, सूर्यविनायक नगरपालिका–६, ७, ८, ९ र १० तथा भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुर थिमि–१ लोकल्थलीसम्मको भूभाग डुबानमा परेको थियो । हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धी स्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित डा. युवामुरा अस्पताल, मध्यपुर थिमीस्थित मध्यपुर थिमी अस्पतालसमेत जलमग्न भएको थियो ।

खस्याङखुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमीको राधेराधे, निकोसेरा क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । रातिदेखि नै ती क्षेत्र डुबानमा पर्न थालेपछि उद्धारका लागि स्थानीय बासिन्दा, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी जुटेका थिए ।
यसैगरी, हनुमन्ते खोलामा आएको बाढीले हनुमान घाटका दुई पुल, राम मन्दिर, बाराहीस्थान, सल्लाघारी, दधिकोट जाने बाटोमा रहेका तीन पुललगायत अन्य पुल खतरामा परेका छन् । बाढीका कारण जगातीदेखि थिमीको राधेराधेसम्मको सडक अवरुद्ध भएको थियो भने पुरानो बाटोअन्तर्गत निकोसेरामा पनि घण्टौंसम्म यातायात अवरुद्ध भएको थियो ।
वर्षाका कारण भक्तपुरका अधिकांश विद्यालय बन्द गरिएका छन् । यस्तै, गिल्टर फ्युचर स्कुल, ग्लोरी, शान्ति निकेतन, अक्सफोर्ड, सिवर्ड, हिमालयन एकेडेमी, एसएस, चाणक्य, राजर्षी गुरुकुललगायतका विद्यालय डुबानमा परेका थिए ।

हजारौं रोपनी जमिनमा लगाएको बाली नष्ट

वर्षासँगै आएको बाढीले हजारौं रोपनी जमिनमा लगाएको बाली नष्ट भएको छ । चाँगुनारायण नगरपालिकाका ताथली, सुडाल, बागेश्वरी, छालिङ, भक्तपुर नगरपालिकाको लिवाली, हनुमन्ते खोला किनारका खेत, खस्याङखुसुङ खोला किनारमा अवस्थित व्यासी, सल्लाघारी, निकोसेरा, थिमी, कौशलटार, लोकन्थली, सुन्दर नगर, सागबारीलगायतका स्थानमा लगाएको घान, नगदेबाली (काँक्रा, सिमी, बोडी, खुर्सानी, धनियाँ, स्कुस, गाँजर, साग) लगाएत बालीनाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले क्षतिको यकिन विवरण संकलन भइरहेको बताए ।
यता, मनोहरा सुकुम्बासी बस्ती पनि पुरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्बासी बस्ती पुरै डुबानमा परेको हो । यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नुपरेको बताएका छन् ।

ललितपुर र काठमाडौं पनि डुबानमा

ललितपुर/रास– अबिरल वर्षासँगै ललितपुर र काठमाडौैंका विभिन्न खोला र नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्दा समस्या उत्पन्न भएको छ । विशेषगरी खोला आसपासका क्षेत्र बढी प्रभावित भएका छन् । ललितपुरको बाग्मती, नक्खु, गोदावरी, कोड्कुलगायतका खोलामा बाढी आउँदा वरपरका बस्तीमा असर परेको छ । कतिपय खेतीयोग्य जमिनमा पानी पस्दा खेतमा लगाइएका धानमा समेत क्षति पुगेको छ ।

बाग्मती खोलाको पानी सुकुम्बासी बस्तीमा पस्दा असर पारेको छ । थापाथली, बालकुमारीलगायतका सुकुम्बासी टोलमा बाग्मतीको पानी टहराभित्रै प्रवेश गर्दा खाद्यान्न र लत्ताकपडा भिज्नुका साथै टहराबाहिर राखिएका समान बगाएको छ । मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि कोटेश्वर र जडीबुटीस्थित सुकुम्बासी बस्ती पुरै डुबानमा परेको छ । कतिपय सडकमा पनि पानी जम्दा सवारी आवागमनमा पनि समस्या आएको छ ।

काठमाडौंका विभिन्न स्थानमा पनि बिहीबार बिहान केहीबेर बाग्मती, रुद्रमती, विष्णुमती, धोवीखोलालगायत खोला आसपासमा डुबान भएको प्रहरीले जनाएको छ । ती नदीमा पानीको बहाव बढेका थिए । ललितपुर र काठमाडौंका विभिन्न सडकमा समेत अबिरल वर्षाले गर्दा पानी जमेर सवारी आवागमनमा समेत समस्या भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सडक विस्तार र समयमा किनाराको ढल व्यवस्थापन नहुँदा पानी सडकमै जमेको थियो ।
चावहिलको मालपोत कार्यालयको पार्किङ परिसर डुबानका कारण रोकी राखिएका केही सवारीसाधन पनि डुबेका थिए । ललितपुरको लुभुनजिकको गोदावरी खोलाको अस्थायी पुलमाथिबाट पानी बग्दा बिहान सवारी आवतजावतमा समस्या भएको स्थानीय धुर्व भण्डारीले जानकारी दिए । पक्की पुल मर्मतका क्रममा रहेकाले अहिले त्यहाँ डाइभर्सन गरेर अस्थायी पुल बनाइएको हो । कान्ति राजमार्गअन्तर्गत टाहाखेल–चापागाउँ–सातदोबाटो मार्गमा ढलको उचित व्यवस्था नहुँदा पानी सडकबाटै बग्दा सवारीसाधन गुड्न कठिनाइ भएको टोखेलकी बालिका शर्माले बताइन् ।

यसैगरी, दक्षिण ललितपुरका भट्टेडाँडा, गोटीखेल, कालेश्वर, ठूलादुर्लुङ, प्युटार, आस्राङ, घुसेललगायतका स्थानका बाटोमा पनि सानातिना पहिरो खसेका छन् । कान्ति लोकपथअन्तर्गतका विभिन्न सडकखण्ड पहिरोका कारण अवरुद्ध भएका छन् । यद्यपि, साँझसम्म ती सबै पहिरो पन्छाएर बाटो खुलिसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए ।