टहराकै बास, अनुदानको झिनो आश

अर्जुन श्रेष्ठ/धादिङ ।

भूकम्पले भत्काएर भग्नावशेष बनेको घर । छेउमै धुजाधुजा भएको त्रिपाल, निगालोको मान्द्रो र प्वाल परेका जस्ताले बेरिएको जीर्ण अस्थायी टहरा । यत्रतत्र छरिएका घरायसी सामग्री । रुबीभ्याली गाउँपालिका–३ धादिङका ७३ वर्षीय पर्मेन तामाङको बसोबासस्थल हो यो । २०७२ वैशाखयता उनको दैनिकी अस्थायी टहरामा अभाव र समस्यासँग पौंठेजोरी खेल्दैमा बितिरहेको छ ।

घर बनाउन सरकारले दिने अनुदान रकम कुरेर बसेका तामाङ भूकम्पले बचेको २ मुठी सास यही टहरामा जानेमा चिन्तित छन् । श्रीमतीको निधन भएको १० वर्ष पुग्न लागेको छ । उनी भन्छन्, ‘दुई छोरी थियो विवाह गरेर गइहाले एक्लो मान्छे अब त गरेर खान पनि सक्दिनँ ।’
हालैको भेटमा आँखा रसिलो पार्दै उनले भने, ‘न काल आयो न बाँच्ने ताल आयो ।’ उनी दोहो¥याउँदै सोध्छन्, ‘घर बनाउने पैसा अरूले चाहिँ पाउने मैले किन नपाउने ?’ उनलाई लागेको छ, आफूले भूकम्पपीडितको अनुदान नपाउनुमा कि इन्जिनियरको बदमासी हुनुप¥यो कि सरकारले नै पक्षपात गरेको छ । ‘भोट माग्नेबेला नेताले केके आस देखाए, जितेपछि मुख देखाउँदैनन्, लामो सास तान्दै भन्छन्, ‘अब त बुढेसकाल लागिहाल्यो दुखीलाई दुःखले नै लखेट्ने रहेछ ।’
सेर्तुङकै ६६ वर्षीया चेसङ तामाङ पनि अस्थायी टहरामै छिन् । भूकम्पपछि गाउँमा आएका इन्जिनियरले पटकपटक भत्किएको घरको फोटो र आफ्नो विवरण लगेको उनी सुनाउँछिन् । ‘तर, खै गाउँमा थोरैको मात्र नाम आयो मैले गुनासो पनि गरें तर मेरो नामै निस्केन,’ उनी भन्छिन् ।
उनलाई आचकल जसले पनि घर कहिले बनाउने भनेर सोध्छन् । ‘सधैं टहराकै बास होलाजस्तो छ, दिन्छु भनेपछि त सरकारले दिनुपर्ने हो,’ आश लाग्दो भावमा उनले सुनाइन्, ‘उत्तर भए पो दिनु ।’

तस्बिर : भूकम्पले भत्किएको टहराअघि पीडित वृद्धवृद्धा

नेत्रावती डबजोङ गाउँपालिका–३ धादिङका गणेश तामाङ भूकम्पले ढलेर बाँकी रहेको घरलाई जस्ताले बेरेर बस्दै छन् । दुईतले घर थियो ढलेर एक तलाको गारो मात्र छ । गारो लगाएका ढुंगा तलमाथि भएका छन् । ढोका पनि लाग्दैन । पानी पर्दा भित्र बस्नै नहुनेगरी भरिन्छ । घाम लाग्दा जस्ता तातेर बस्नै सकिन्न । ‘जोखिम मोलेरै टहरामा बस्दै छु,’ उनले सुनाए ।
९० वर्षीय तामाङले १९९० र २०७२ साल दुवैपटकको भूकम्पको सामना गरे । ९० सालमा रूख भुइँ छुनेगरी हल्लिएको थियो, तर २०७२ सालको भूकम्पले तलबाट उफा¥यो, धन्न बाहिर थिएँ ज्यान बच्यो,’ उनले आफ्नो अनुभव सुनाए । घर बनाउन सरकारले पैसा दिन्छ रे भन्ने सुनेको उनले बताए । गाउँमा अरूले पैसा लिएर घर बनाउन थालेको पनि देखे । तर, उनको नाम अनुदान रकम पाइने सूचीमा परेन ।

घर बनाउने रहर पैसा नभएर पूरा नभएको उनको भनाइ छ । भन्छन्, ‘सरकारले हेरेन ढलेको गारो फ्याँकेर बाँकी रहेको गारोमा जस्ता हालेर बसेको छु ।’ उनलाई चिन्तासँगै शंका छ, ‘कतै ढल्न लागेको गारोले च्यापेर पो मर्छु कि ?’
गंगाजमुना गाउँपालिका–३ धादिङका खड्कबहादुर खातीको पनि भूकम्पमा घर भत्कियो । अझै अस्थायी टहरामै दुःखले दैनिकी चलिरहेको छ । तर, अरूले आवास सहयोगार्थ रकम लिइरहँदा तामाङ भने टुलुटुलु हेरिरहन बाध्य भए । अनुदान रकम पाउने सूचीमा उनको नाम आएन ।
अरूले अनुदान रकम लिएर घर बनाउन थाले पनि आफूले घर बनाउन नसकेको उनले बताए । गाउँपालिकाले ‘गुनासो भर्नुस्, तपाईंले पैसा पाउनुहुन्छ’ भन्दै पटकपटक टारेको उनी बताउँछन् । इन्जिनियरलाई तथ्यांक र आफ्नो विवरण दिँदादिँदा थाकेका उनी अझै अनुदान रकमको पर्खाइमा छन् । सरकारले अनुदान रकम दिए घर बनाएर भूकम्पको पीडा बिर्सने योजनामा छन्, उनी ।

धादिङ जिल्लामा आवास अनुदान रकम पाइने सूचीमा आफ्नो नाम नआएपछि २३ हजार ५६१ प्रभावितले गुनासो फाराम भरेका थिए । तर, हालसम्म १६ हजार ५७७ प्रभावितको मात्रै गुनासो फछ्र्याैट भएको छ । जसमध्ये ५ हजार ६८० प्रभावित मात्र वास्तविक लाभग्राहीमा सूचीकृत भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ धादिङका प्रमुख राजेन्द्र केसीले बताए । बाँकी प्रभावितको छिट्टै नाम प्रकाशन गरिने समेत उनले बताए ।
जिल्लाका कुल लाभग्राहीमध्ये ७० हजार १५१ जनाले पहिलो किस्ता लिइसकेका छन् । दोस्रो किस्ताका लागि निवेदन परेका ५३ हजार ९२८ मध्ये ५१ हजार ४६९ प्रभावितले दोस्रो किस्ताको रकम पाइसकेको र २७ हजार ६२४ प्रभावितबाट तेस्रो किस्ताका लागि निवेदन परेकोमा २३ हजार ३०६ ले रकम प्राप्त गरिसकेको उनले बताए ।
घर भत्किएर अनुदान रकम नपाउनेहरू धादिङमा धेरै छन् । कतिपयले आफ्नै बलबुताले घर बनाए । कति अझै अस्थायी टहरामा कष्टकर जिन्दगी बिताउँदै छन् । गुनासो भर्नेहरूको नाम ननिस्केपछि आशाको बत्ती निभ्ने हो कि भन्ने त्रास पनि उत्तिकै छ । कतिपयले त गुनासो फारामसमेत भरेका छैनन् ।