गोल्डेन बलका दाबेदार

गोल्डेन बलका दाबेदार

 

२१औं संस्करणको रसिया विश्वकप समापनको संघारमा छ । अप्रत्याशित नतिजा आएको मानिएको रसिया विश्वकपको उपाधिका लागि यसपटक युरोपका दुई राष्ट्र फ्रान्स र क्रोएसिया खेल्दै छन् । खेल आइतबार राति ८ः४५ बजे मस्कोस्थित लुज्निकी स्टेडियममा हुनेछ । फ्रान्सले जिते फ्रान्स दोस्रोपटक च्याम्पियन बन्नेछ । क्रोएसियाले जिते विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । त्यसअघि तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डबीच रिप्ले खेल हुनेछ । यी दुई टिमले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा बेल्जियम १–० ले विजयी भएको थियो । विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ्स कसले हात पार्ला यो चर्चाको विषय हुन थालेको छ । यहाँ गोल्डेन बल जित्न सक्ने सम्भावित चार नामलाई केलाइएको छ

१. लुका मोड्रिक (क्रोएसिया)

गोल्डेन बलको मुख्य दाबेदारका रूपमा क्रोएसियाका कप्तान लुका मोड्रिक उभिएका छन् । उनकै कप्तानीमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गरेको छ । रुस विश्वकपमा कप्तानीको भूमिकामा अट्याकिङ मिडफिल्डरका रूपमा आफूलाई अब्बल सावित गरेका उनले विश्वकपमा ३ गोल गरिसकेका छन् । उनले प्री–क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा उत्कृष्ट गोल गरेका थिए । फ्रान्सविरुद्धको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई गोल्डेन बल जित्न थप सहजता हुनेछ । स्पेनिस क्लब रयल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेको मोड्रिचकै उच्च प्रदर्शनमा रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सफल भएको थियो ।

२. केलियन एमबाप्पे (फ्रान्स)

१९ बर्षे युवा स्टार कालिन एमबाप्पेलाई जारी विश्वकपमा गोल्डेन बल जित्न सक्ने दाबेदारका रूपमा हेरिएको छ । सुरुवातदेखि नै उत्कृष्ट प्रर्दशन गर्दै आएका एमबाप्पेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । टिनेजमा विश्वकप जस्तो ठूलो प्रतियोगितामा ३ गोल गर्न सफल उनले ब्राजिलका महान खेलाडी पेलेसँगको कीर्तिमानलाई बराबरी गरिसकेका छन् । जादुमय खेल पस्कँदै मैदानमा तीव्र गतिमा कुद्न सक्ने खेलाडीको परिचय बनाएका एमबाप्पेलाई फ्रान्सका प्रशिक्षक डिडेयर डेसच्याम्ले उनी एक असाधारण खेलाडी हुन सक्ने गुण रहेको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन –पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका एमबाप्पे फ्रान्सको राष्ट्रिय टिमबाट विश्वकपमा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् ।

३. रोमेलु लुकाकु (बेल्जियम)

ज्याद्रो शरीर, झट्ट हेर्दा फुटबल खेलाडी जस्तो पनि नदेखिने रोमेलु लुकाकु रुस विश्वकपमा उत्कृष्ट लयमा देखिएका बेल्जियमका स्टार हुन् । रोमेलु लुकाकुले बेल्जियमका लागि खेलेका सबै खेलमा उनले उच्च प्रदर्शन गरेका छन् । गोल्डेन बुटको दौडमा रहेका लुकाकु गोल्डेन बल जित्ने दौडमा पनि रहेका छन् । उनी ४ गोलसहित गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् । उनीभन्दा अघि इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित गोल्डेन बुटब दौडमा अघि रहेका छन् । इंग्लिस क्लब म्याचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका लुकाकुले बेल्जियमलाई सेमिफाइनलसम्म पु¥याउन महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग हुने खेलमा २ भन्दा बढी गोल गर्न सके उनलाई गोल्डेन बुट र गोल्डेन बल दुवै जित्न सक्ने मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

४. इडेन हाजार्ड (बेल्जियम)

इंग्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका इडेन हाजार्ड बेल्जियमका कप्तान हुन् । उनकै कप्तानीमा बेल्जियम विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । जारी विश्वकपमा २ गोल गरेका हाजार्डले त्यति नै मात्रामा गोलका लागि सहयोग गरेका छन् । त्यसैले हाजार्डलाई गोल्डेन बल जित्न सक्ने दाबेदार खेलाडीको दौडमा समावेश गरिएको छ । पाँचपटकको विश्वविजेता ब्राजिललाई क्वार्टरफाइनलमा पराजित गर्दा उनको प्रदर्शन र कप्तानी तारिफयोग्य बनेको थियो ।