क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

एजेन्सी/मस्को।

‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘डी’ बाट माथि उठेको युरोपेली राष्ट्र क्रोएसिया एकपछि अर्काे सफलता हात पार्दै अन्ततः रसिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मस्कोस्थित लुज्निकी स्टेडियममा बुधबार राति भएको खेलमा क्रोएसियाले उपाधिको दाबेदार मानिएको इंग्ल्यान्डलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलमा पहिलोपटक फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको हो । अब उपाधिका लागि क्रोएसियाले आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर, फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं राष्ट्र बन्यो । युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो । फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन् । आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम र नयाँ च्याम्पियन बन्नेछ । यस्तै क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम बनेको छ । क्रोएसिया हाल फिफा वरीयतामा २०औं स्थानमा छ । क्रोएसिया नकआउट चरणका तीन खेलमा पछि परेर पनि पुनरागमन गर्ने पहिलो टिम हो । क्रोएसियाले प्री–क्वार्टरफाइनलमा डेनमार्क, क्वार्टरफाइनलमा रसिया र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पछि परेर पनि जित हात पर्न सफल भएको हो ।

क्रोएसियाले खेलमा पछि परेको अवस्था उल्ट्याएर इंग्ल्यान्डमाथि रोमाञ्चक जित हात पारेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले निर्णायक गोल गर्दै क्रोएसियालाई पहिलोपटक विश्वकपको फाइनमा पु¥याए ।

अतिरिक्त समयको १९औं मिनेटमा इभान पारिसिकले डिबक्सभित्र हेडमार्फत मिलाएको पासमा म्यानजुकिकाले उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यसअघि मान्जुकिकको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले जोगाएर टिमको संकट टारेका थिए । इंग्ल्यान्डका जोन स्टोन्सले सिक्स यार्ड बक्सबाट गरेको हेडरलाई क्रोएसियाका ह्यारी म्यागियुरले गोललाइनबाट मुस्किलले बचाएका थिए ।

त्यसअघि खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो । खेलको पाँचौं मिनेटमा केइरन ट्रिपियरले डिबक्सनजिक पाएको फ्रिकिकमा दर्शनीय गोल गरेपछि इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो । ट्रिपियरको प्रहारलाई रोक्न क्रोएसियाका गोलकिपर डानिजेल सुबासिकले कुनै मौका नै पाएनन् । ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । पहिलो हाफमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । कप्तान ह्यारी केनले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई क्रोएसियाका गोलकिपरले विफल पारेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा आफ्नो दम्भले खेल्दा बराबरी गोल खान पुग्यो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको क्रोएसियाले ६८औं मिनेटमा बराबरी गोल फर्काउन सफल भएको थियो । इभान पेरिसिकले इंग्ल्यान्डका डिफेन्डर केल वाल्करलाई बिट गरेर बराबरी गोल फर्काउन सफल भए । पेरिसिकलाई गोल गर्न सिमे भर्साक्कोले क्रस उपलब्ध गराएका थिए । पेरिसिसको जारी विश्वकपमा दोस्रो गोल हो । लगत्तै क्रोएसियाले अग्रता लिने अवसर गुमाएको थियो । पेरिसिकले डिबक्सभित्रबाट हानेको प्रहार दोस्रो गोलमा लागेर फर्किएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अभागी इंग्ल्यान्ड

प्रशिक्षक ग्यारेथ साउथगेटले यसपटक इंग्ल्यान्डको राष्ट्रिय टिममा युवा खेलाडीमाथि विश्वास गर्दै रसिया विश्वकपमा सहभागिता जनाएको थियो । विश्वकपको समूह चरणको सुरुवाती खेलमा ट्युनिसियामाथि संघर्षपूर्ण जित निकाले पनि नव प्रवेशी पानामा माथि युवा जोसले भरिएको इंग्ल्यान्डले ६–१ को फराकिलो जित निकालेको थियो । समूह विजेता बनेर जाँदा क्वार्टरफाइनलबाटै बाहिरिने हो कि भन्ने चिन्ता बोकेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा दोस्रो रोजाइको खेलाडी उतार्दै बेल्जियमविरुद्धको खेल १–० ले गुमाएको थियो ।

समूह उपविजेता बनेपछि इंग्ल्यान्डले प्री–क्वार्टरफाइनलमा कोलम्बियाको चुनौती पेनाल्टी सुटआउटमा ४–३ ले पन्छाएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

क्वार्टरफाइनलमा स्विडेनमाथि २–० को सहज जित निकालेको इंग्ल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग अतिरिक्त समयमा २–१ ले घँुडा टेक्न बाध्य बन्यो । सेमिफाइनलमा क्रोएसियालाई कमजोर प्रतिद्वन्द्वीका रूपमा हेरेको इंग्ल्यान्डले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि आफ्नो दम्भले जितिहालिन्छ नि भनेर खेलेको इंग्ल्यान्डले लगातार २ गोल खाँदै स्तब्ध हुन पुग्यो । बेलायती सञ्चार माध्यमहरूले यसपटक आफ्नो टिमको बारेमा खासै लेखेका थिएनन् ।

किनकि टिममा यसपटक कोही खेलाडी पनि एक अर्काभन्दा माथिल्लो स्तरका थिएनन् । सबै समान स्तरका थिए । अघिल्ला विश्वकपमा डेभिड बेकह्याम, वाइने रोनी जस्ता एक्ला स्टार खेलाडीले यसपटक टिम धानेको थिएन । ग्यारेथ साउथगेटले यसपटक निकै सन्तुलित टिम बनाएका थिए । तर, उनको सन्तुलित टिम २८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेपछि त्यसभन्दा अघि बढ्न सकेन । १९६६ को च्याम्पियन इंग्ल्यान्ड हरेक विश्वकपमा दाबेदार टोली हो ।

यही दाबेदार शैली इंग्ल्यान्डले रसिया विश्वकपमा पनि देखाएको थियो । हरेक विश्वकपमा राम्रो खेल्ने अनि उपाधि जित्न नसक्ने अभागीको छवि बोकेको इंग्ल्यान्डले आफ्नो पुरानो छवि ‘अभागी’ लाई यसपटक पनि छाड्न सकेन ।

अघिल्ला दुई खेलमा चम्किएका कप्तान ह्यारी केन क्रोएसियाविरुद्धको खेलमा जम्न सकेनन् । उनी ६ गोलसहित गोल्डेन बुटको दाबेदार हुन् ।

क्रोएसियाको फाइनल यात्रा

समूह चरण

नाइजेरियाविरुद्ध २–०

अर्जेन्टिनाविरुद्ध ३–०

आइसल्यान्डविरुद्ध २–१

प्री–क्वार्टरफाइनल

डेनमार्कविरुद्ध पेनाल्टी सुटआउटमा ४–३ (१–१)

क्वार्टरफाइनल

रसियाविरुद्ध पेनाल्टी सुटआउटमा ४–३ (२–२)

सेमिफाइनल

इंग्ल्यान्डविरुद्ध अतिरिक्त समयमा २–१