एनआईसी एसिया दुई शाखारहित बैंकिङ सेवा

काठमाडौं/रास– एनआईसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितलाबजारमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको आपm्नो १२औं र १३औं शाखारहित बैंकिङ सेवा हो ।

फलेवास नगरपालिकाको थापाठानामा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरेका हुन् । बंैकको सो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा बैंकले कविता कुँवरलाई नियुक्त गरेको छ ।

त्यसैगरी बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष  सुन्दरमान श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो । सो शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका रूपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यो सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

साखारहित बैंकबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

बैंकको मुलुकभर २२६ शाखा कार्यालय, २१९ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवं १३ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १७६ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब  १२० अर्ब र कुल निक्षेप करिब १५० अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारका हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।